(खप्तड क्षेत्रमा रहेकाे त्रिवेणी धाम, तस्विरः नेपाल पर्यटन बाेर्ड)
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी थालिएको छ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने तय भएको आयोजकले जनाएको छ । आध्यात्मिक सम्मेलनमा पूर्व प्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जग गुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजकको तयारी छ ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, स्वामी रामदेव, जगत गुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्ति आउने तय भइसकेको उनको भनाइ छ । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम छ । योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ । आयोजकका अनुसार सम्मेलनका क्रममा खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षलगायत विषयमा केही कार्यपत्र प्रस्तुत गरिनेछन् । सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने कार्यकारी निर्देशक खड्काले बताए । भारतीय पर्यटक मात्र खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठुलो टेवा पुग्ने उनले बताए ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा ३३ जना विदेशी पर्यटक मात्र खप्तड पुगेका छन् ।
खप्तडको प्राकृतिक सुन्दरता, पौराणिक र धार्मिक महत्वको प्रचारप्रसार गर्न सके विदेशी पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । ‘मानस खण्डमा खप्तडलाई पृथ्वी लोकको सबैभन्दा सुन्दर र अलौकिक ठाउँ भनेर व्याख्या गरिएको छ ।
खप्तडको धार्मिक, सांस्कृतिक र आध्यात्मिक पक्षबारे कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै, खप्तड बाबाको दर्शन र विचार तथा खप्तडको आध्यात्मिक पर्यटन विकासको सम्भावनाबारे पछि छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने व्यवस्थापन समितिले जनाएको छ ।