बझाङकै ठुलो पक्की पुल निर्माण सम्पन्न गर्दै ग्वाल्लेक निर्माण सेवा

ग्वाल्लेक केदार निर्माण सेवा प्रालीले बझाङकै ठुलो मोटोरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । केदारस्ँयु गाउँपालिका ०१ को रायलमा बन्दै गरेको उक्त पुलको ८० प्रतिशत काम निर्माण सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।
बझाङलाई सेती पारी जोड्ने यो मोटोरेबल पुल जिल्लामा रहेका पुलमध्ये सबैभन्दा ठुलो हुने छ । डबल लेन रहेको उक्त पुलको लोड क्षमता ४ सय ५० टन रहेको छ । थलारा गाउँपालिका जोड्ने सो पुल निर्माण भएपश्चात् डोटीसँगको सडक दुरी छोटो हुने स्थानीय बताउँछन् ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा उक्त पुल हस्तान्तरण गर्ने तयारी रहेको ठेकेदार कम्पनीका बझाङ साइट इन्चार्ज सन्तोष चन्दले बताए । ग्वाल्लेक केदार निर्माण सेवा कम्पनीले यसै आर्थिक वर्षमा दुई वटा पुल निर्माण सम्पन्न गर्ने चन्दले जानकारी दिए । केदारस्यूँको नारु गाडमा पक्की पुल निर्माण सम्पन्न भएको चन्दले जानकारी दिए । उनी भन्छन्, ‘नारु गाडमा पुलको निकै समस्या थियो । नारु गाडले प्रत्येक वर्ष बर्खामा करिब एक महिना बझाङको सडक अवरुद्ध गर्दथ्यो । हामीले सो ठाउँको पुल निर्माण गरी सकेका छौँ । रायलको पुल पनि अन्तिम चरणमा छ ।’
ग्वाल्लेक निर्माण सेवा कम्पनीले दुर्गा थली गाउँपालिको ४ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पनि पाएको छ । मोरीबगरदेखि चौधारीसम्म ४ किलोमिटर कालोपत्रेको काम धमाधम भइरहेको चन्दले जानकारी दिए ।
Loading...