साइपालमा अमेरिकी सैन्य क्याम्प नभएको प्रजिअ पाण्डे र तरूण दल अध्यक्ष ऐडीको स्पटोक्ति  

बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाले सैन्य क्याम्प स्थापना गरेको भनेर एक राजनीतिक विश्लेषकले भिडियो फुटेज सार्वजनिक गरेका छन् । आफूलाई बाम विश्लेषक भनेर परिचित गराउने भरत दाहालले युट्युबमा एक भिडियो सामाग्री राख्दै बझाङको साइपाल क्षेत्रमा अमेरिकी सैन्य क्याम्प खडा भएको सनसनीपूर्ण अभिव्यक्ति दिएका हुन् । सो क्षेत्रको ठुलो भूभाग उनीहरूले आफ्नो नियन्त्रणमा लिएको अभिव्यक्ति छ । दाहालले केही व्यक्ती, प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र सरकारलाई अमेरिकी सैन्य क्याम्प खडा गर्ने मतियारको रूपमा प्रस्तुत गरेका छन् ।
तरुण दल बझाङ अध्यक्ष विष्णु ऐडी, स्थानीय विराट कठायत, साइपाल गाउँपालिका ठेगाना दिइएकी रन्जिता धामीले अमेरिकी सैनिकलाई सहजीकरण गरेको दाहालको अभिव्यक्ति छ । विषयले सरोकारवालामाझ चर्चा पाएपछि तरुण दल अध्यक्ष विष्णु ऐडीसँग नेपाल एङ्गलले अन्तरक्रिया गरेको छ ।
नेपाल एङ्गलसँगको अन्तरक्रियामा ऐडीले उक्त विषयमा आफ्नो नाम जोडिएकोमा आश्चर्य व्यक्त गरेका छन् । ऐडीले आफूलाई अहिलेसम्म पनि उक्त विषयको बारेमा जानकारी नभएको बताए । सैन्य क्याम्प खडा भएको दाबी गरिएको साइपाल गाउँपालिकामा अहिलेसम्म पुग्न समेत नसकेको ऐडी बताउँछन् । उनी भन्छन्, ‘यो विषयमा मेरो नाम कसरी जोडियो म अझै अनविज्ञ छु । हिजो राती ९ बजेदेखि मलाई लगातार फोन आइरहेका छन् । कसले कसरी मेरो नाम जोडे आश्चर्य लागेको छ , उनले अगाडि थपे, ‘साइपाल गाउँपालिकासँग मेरो कुनै सम्बन्ध छैन । चुनाव प्रचारको लागि समेत म त्यहाँ पुगेको छैन । मलाई माझा भन्ने ठाउँ कहाँ पर्दछ त्यो पनि थाहा छैन ।’
तपाइको नाम कसरी जोडिन पुगेको आकलन गर्नुभएको छ भन्ने प्रश्नमा ऐडी भन्छन्, ‘यसमा मेरो नाम मात्रै नभएर राष्ट्रिय स्तरका नेताहरूको नाम जोडिएको छ । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा, वर्तमान गृहमन्त्री लगायतको नाम पनि उल्लेख छ । म नेपाली काँग्रेस निकट भएकोले देउवा दाइसँग राम्रो सम्बन्ध छ । त्यसको अर्थ मैले राष्ट्र हित विपरीत हुने काम गरेको छैन । यसबारेमा प्रशासनले छानबिन गरेर आफ्नो धारणा सार्वजनिक गर्नु पर्दछ ।’
ऐडीले उक्त क्षेत्रमा अमेरिकी सेना पुग्यो कि पुगेन भन्ने बारेमा प्रशासन र सुरक्षा निकायले छानबिन गर्नुपर्ने माग राखे । उक्त विषयमा प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भन्दै आजै बझाङ जिल्ला प्रशासनमा निवेदन दिने बताए ।
विश्लेषक भनिएका दाहालको उक्त अभिव्यक्ति भ्रमपूर्ण भएको कुरामा ऐडीले जोड दिँदै भने, ‘यो मेरो कल्पनाभन्दा बाहिरको कुरा हो । मैले जिल्लामा कुनै अनैतिक कामहरू गरेको छैन । म अहिले धनगढी आफ्नै निवासमा बस्छु । काम विशेषले मात्र बझाङ जान्छु । दाहलको अभिव्यक्ति पूर्ण भ्रमात्मक छ । यसको खण्डन गर्दछु ।’
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले दाहालको अभिव्यक्ति भ्रमपूण भएको बताएका छन् । उक्त क्षेत्रमा कुनै बाह्य शक्तिको उपस्थिति नरहेको पाण्डेले दाबी गरे । सामाजिक सञ्जालमा उक्त विषय चर्चामा आएपछि आफूले जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा स्थानीयसँग सोधपुछ गरेको प्रजिअ पाण्डेले बताए । प्रजिअ पाण्डेले साइपाल गाउँपालिका अध्यक्षलाई उदृत गर्दै भने, ‘जनप्रधिनिलाई सोधपुछ गर्दा त्यहाँ भनिएजस्तो बाह्य शक्तिको उपस्थिति छैन । त्यो क्षेत्रमा गाडी पुग्ने सडक छैन । राहत पनि सीमित मात्रामा गएको छ । चर्चामा रहेका कुरामा सत्यता छैन ।’
प्रजिअ अधिकारीले दाहालको अभिव्यक्तिमा सत्यता नभएको कुरा उल्लेख गर्दै भने, ‘सुनिकोट भन्ने ठाउँ साइपालको भूभागमा पर्दैन । रन्जिता धामी भन्ने व्यक्ति त्यहाँ छैन । यसमा कुनै पनि एंगलबाट बाह्य व्यक्तिको उपस्थिति छैन । त्यसैले कुनै कुरा सत्यता छैन ।’
Loading...