वडाध्यक्ष भण्डारीको वार्षिक कार्य समीक्षा, धम्पुस सडक यसै वर्ष कालोपत्रे गर्ने उद्घोष

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भएको छ । ०७९ वैशाख ३१ मा देशैभर सम्पन्न निर्वाचनबाट स्थानीय तहको नेतृत्व गर्न जनप्रतिनिधि निर्वाचित भएका थिए । कास्की जिल्ला अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाको जेठ १ गते वडानं ७ को अन्तिम मत परिणाम सार्वजनिक भएको थियो । निर्वाचनबाट वडानं. ०७ अध्यक्षमा बैकुण्ठ भण्डारी निर्वाचित भएका थिए ।

भण्डारीले निर्वाचित भएर पदभार ग्रहण गरेकाे जेष्ठ ९ गते एक वर्षको पुगेको छ । साेही अवसरमा वडाध्यक्ष भण्डारीले वार्षिक कार्य समीक्षा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत वार्षिक कार्य समीक्षाको फेहरिस्त सार्वजनिक गर्दै भण्डारीले सर्वप्रथम निर्वाचित गर्ने मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् । साथै, सम्पादन गर्न असमर्थ भएका कामको बारेमा क्षमा याचना गरेका छन् ।

‘आज ज्येष्ठ ९ गते वडावासीको सेवा गर्न वडा अध्यक्षको रूपमा पदस्थापन गरेको एक वर्ष पुरा भएको छ । धम्पुसवासीकाे अमूल्य मत प्राप्त गरी सेवा गर्ने अवसर प्राप्त भएकोमा सम्पूर्ण महानुभावलाई हार्दिक आभार व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘यस अवधिमा विविध कारणले धम्पुसको मेरुदण्डको रूपमा रहेको घट्टे खोला, देउराली, खानि गाउँ सडक निर्माण सुरु गर्न नसकेकोमा क्षमा याचना गर्दछु ।’

निर्वाचित भएको पहिलो वर्षमा धम्पुस जोड्ने सडक खण्ड कालोपत्रे गर्न असमर्थ भएको उल्लेख गरेका भण्डारीले यसै वर्ष उक्त सडक निर्माण सुरु गराउने उद्घोष गरेका छन् । सडक खण्डमा संरक्षित क्षेत्र तथा स्थानीयको जग्गा पर्ने भएकोले समन्वय गर्दागर्दै पहिलो वर्ष बितेको भण्डारीले उल्लेख गरेका छन् । अब भने केही जग्गा धनीसँग मात्रै कुरा मिलाउन बाँकी रहेको भण्डारी बताउँछन् । उक्त कामका लागि धेरै समय नलाग्ने र चाँडै टेण्डर प्रक्रियामा जाने भण्डारीले उद्घोष गरेका छन् । ‘सडक काला पत्रे गर्नका लागि ५८ करोड बजेट विनियोजित छ । यसै वर्ष मूल सडक टेन्डर प्रक्रिया सुरु भई निर्माण कार्य अगाडि बढ्नेमा विश्वस्त छु,’ भण्डारीले उल्लेख गरेका छन् ।

यस्तै पहिलो वर्षमा वडाका ११ वटा टोलमा खानेपानी, स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायत विभिन्न ५४ वटा रु ४ करोड ३ लाखका योजनाहरू सम्पन्न भएका र केही निर्माणाधीन रहेको भण्डारीले अवगत गराएका छन् ।

वडाध्यक्ष भण्डारीले कार्यकालको बाँकी समय जनताको राय सुझाव अनुसार तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै सहकार्यकालालागि वडा समीतीका सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

Loading...