चैन मेडिकलमा नक्कली डाक्टरको ‘चैन’ (भिडियाेसहित)

चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्नु अपराध हो । तर, बझाङको सदरमुकाम चैनपुरमा भने यो अपराध खुलेआम भइरहेको छ ।

शैक्षिक योग्यता नभएको र नेपाल मेडिकल काउन्सिलबाट समेत इजाजत पत्र प्राप्त नगरी कानुन विपरीत आफूलाई डाक्टर हुँ भनेर सदरमुकाम चैनपुरमै चैन मेडिकल सञ्चालनमा छ । मेडिकलमा भारतीय नागरिकहरूले चैन’का साथ बझाङवासीको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । उनीहरू खुलेआम बिरामीको चेकजाँच गर्छन्, औषधि दिन्छन्, सुई लगाउँछन् र पैसा असुल्छन् ।

बुधवार साँझ ८ बजेतिर जयपृथ्वी नगरपालिका ११ सुइलका ५५ वर्षिया एक वृद्ध पेट दुखेको भन्दै चैन मेडिकलमा आउँछन् । मेडिकलमा भएका एक व्यक्तिले उनको स्टेथिस्कोप लगाएर चेकजाँच गर्छन् । लगत्तै ती वृद्धलाई स्टोर पछाडिको कोठामा लगेर अर्का व्यक्तिले सुई लगाइ दिन्छन् । चैन मेडिकलमा शैक्षिक योग्यता नपुगेका नक्कली डाक्टरले बिरामी चेकजाँच गर्ने गरेको गुनासो आएपछि नेपाल एङ्गलका रिपोर्टर गुप्तरुपमा त्यहाँ पुगेका थिए । ती वृद्धलाई सुई लगाएपछि रिपोर्टरले डाक्टरको परिचय र शैक्षिक योग्यताबारेमा जिज्ञासा राखे । तर, मेडिकलमा भएका ती दुवै जना व्यक्तिले शैक्षिक योग्यताको विवरण देखाउन मानेनन् ।

हेर्नुहोस् यो भिडियो सामाग्री

हाम्रो टिमले शैक्षिक योग्यताको बारेमा प्रश्न उठाएपछि आफूलाई फार्मेसिस्ट हुँ भन्ने व्यक्ति आक्रोशमा आए । ‘मैले शैक्षिक योग्यताको प्रमाण देखाउँदैन । हेर्ने भए सिडिओलाई लिएर आउनुस्’ भन्दै जङ्गिए । त्यहाँको माहोल तनावपूर्ण बनेपछि हाम्रो टिम फर्कियो । त्यसपछि मेडिकलको बोर्डमा भएको नम्बरमा फोन गरेर बुझ्ने प्रयास भयो । आफ्नो नाम प्रविन मण्डल भनेर कुरा गरेका व्यक्तिले आफू फार्मेसिस्ट भएको बताए । अघि बिरामीलाई सुई लगाउने व्यक्ति को हुन्? उनको शैक्षिक योग्यता कति हो? भनेर प्रश्न गर्याैँ जवाफमा उनी भारतीय नागरिक भएको मात्रै उल्लेख गरे । उनको शैक्षिक योग्यता के हो जवाफ दिन चाहेनन् । भारतमा अध्ययन गरेको भन्दै उनले विषयान्तर गर्दै भने, ‘उसले भारतमा अध्ययन गरेको छ । मैले अनुमति दिएँ उसले इन्जेक्सन लगायो । बिरामीलाई केही भए जिम्मेवारी म आफैँ लिन्छु ।’

मेडिकल प्रतिनिधिसँगको टेलीफोन संवाद

चैन मेडिकलले दिएको औषधिले थप समस्या उब्जाउने उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।

मेडिकलमा मार्क सिट छ, डाक्टर छैनन्

हामीलाई स्रोतबाट प्राप्त सूचना अनुसार प्रशासन वा अन्य निकायबाट चेकजाँच गर्दा चैन मेडिकल सञ्चालकले एक व्यक्तिको सर्टिफिकेट देखाउँदै आएका छन् । सुर्मा गाउँपालिका स्थायी ठेगाना भएका नवराज बोहराको सर्टिफिकेट देखाएर सरोकारवाला पदाधिकारीलाई झुक्क्याउँदै आएको स्रोतको दाबी छ । बोहराले सामान्य चिकित्सा अध्ययन गरेको उनको सर्टिफिकेटमा देखिन्छ । तर, बुधवार बोहरा मेडिकलमा थिएनन् ।

आफूलाई फार्मेसिस्ट भनेर परिचय दिने मण्डलको नै शैक्षिक योग्यता नपुगेको आशंका गरिन्छ । प्रशासनले यी र यस्तै अवैध तवरबाट संचालन भएका मेडिकल, अस्पताल लगायतका स्वास्थ संस्थामाथी नियमन गर्न जरुरी छ ।

 

 

Loading...