भ्रष्टाचार आरोपमा प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर

जुम्लाको तिला गाउँपालिकाका नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार गर्ने छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सव इन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । त्यसैगरी नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्याङ्‍कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

तिला गाउपालिका वडा नं. १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस गरेकोमा सोहीवमोजिम भुक्तानी भएको पाइएको छ ।

सार्की, रोकाय र बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा उनीहरुलाई ५ लाख ४५ हजार ४१९.२४ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदावी गरिएको छ ।

साथै, उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधराबाट पनि ५ लाख ४५ हजार ४१९.२४ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत गर्न मागदावी प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

Loading...