नेकपा माओवादी केन्द्रले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।
त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरूको टिम नै बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिसनको सफलताको पनि कामना गरे ।
पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए ।
बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका बुढामगरले गत जेठ ५ गते अपराह्न सगरमाथाको सफल आरोहण गरेका थिए ।