ढोकामा ताल्चा, काम नगरी तलब 

बझाङः छविसपाथिभेरा गाउँपालिका वडा नं. १ स्थित काप्री गाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही रहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरूले मनोमानीले स्वास्थ्य चौकी नै बिरामी छ ।

२०७३ सालमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएकाे थियाे । स्वास्थ्य केन्द्रमा एक अनमी, एक अहेव र एक कार्यालय सहयोगी गरेर तिन जना कर्मचारीहरू कार्यरत रहेका छन् । तर, उनीहरूले नियमित स्वास्थ्य चाैकी सञ्चालन गरेका छैनन् । हप्ताैँसम्म पनि कर्मचारी स्वास्थ्य चाैकीमा हाजिर नहुने स्थानीय बताउँछन् । यद्यपी तलव र  सुविधा भने नियमित लिइरहेकाे भेटिएकाे छ ।

स्वास्थ्य चाैकीमा कार्यरत अहेव उमेश कठायतले दुई वर्ष अघि नै निजी मेडिकल सञ्चालन गरेर बसेकाे बताइएपनी अझै तलव बुझ्ने गरेकाे खुलेकाे छ ।

अनमी भूमिका सिंहपनि कहिलेकाहीँ जाने र दिउँसो नै बन्द गरेर फर्किने गर्छिन् । सिंहले एक्लै स्वास्थ्य केन्द्र धान्न मुस्किल भएकाले अप्ठ्यारो भएको बताएकी छन् ।
स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षको बुहारी समेत रहेकी कार्यालय सहयोगी विस्ना जोशी पनि फुर्सदमा कार्यालय खोल्ने गर्छिन् । स्वास्थ्य केन्द्र नियमित किन खोल्नुहुन्न? भन्ने प्रश्नमा उनले गैर जिम्मेवार अभिव्यक्ति दिँदै, ‘यो विषयमा तपाइलाई किन चासो? मान्छे चिनेर खोजतलास गर्नु नत्र पछि नराम्रो होला’ भन्दै धम्की समेत दिएकी छन् ।
ताल्चा लगाइएकाे काप्री गाउँ स्वास्थ्य केन्द्र
भौगोलिक रूपमा निकै विकट रहेको काप्री गाउँमा ४५ परिवारको बसोबास रहेको छ । विकासको पूर्वाधारको नाममै गाउँमा एक स्वास्थ्य चौकी रहेको र त्यही पनि नियमित नखुल्दा सिटामोल पनि पाउन मुस्किल रहेको स्थानीयको गुनासो छ ।
‘हामीले सामान्य उपचारको लागि पनि दुई घण्टा पैदल हिँडेर बगडगाउँको मटेला स्वास्थ्य चौकी पुग्नुपर्छ, गाउँको स्वास्थ्य चौकी कहिल्यै सञ्चालन हुँदैन,’ स्थानीय बिन्दु जोशीले भनिन् । ‘मटेला स्वास्थ्य चौकीमा पनि काप्रीगाउँ घर भनेपछि ओषधी दिन मान्दैनन्, तिमिहरूको गाउँमा किन माग्दैनौ भनेर उल्टै प्रश्न गर्छन्,’ उनले गुनासो गरिन् ।

गाउँमै स्वास्थ्य चौकी स्थापना भएको आठ वर्ष भए पनि आफूहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । स्वास्थ्य केन्द्रका अहेव कठायतले स्वास्थ्य केन्द्र घरबाट टाढा रहेको, शौचालय, खानेपानीको व्यवस्था नभएको र तलबको समेत राम्रो सुविधा नभएकाले काममा जान छोडेको बताएका छन् ।

आफ्नै मेडिकल चलाउँदै आएका कठायतले स्वास्थ्य केन्द्रमा काम गर्न छोडेको दुई वर्ष बिते पनि गाउँपालिकाले नियमित तलब दिने गरेको छ । यता स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष प्रयागराज जोशीले अहेव कठायतले किर्ते हाजिर गरेर तलब लिने गरेको कुरामा आफू जानकार रहेको बताएका छन् ।

उनले यो विषयमा आफूले गाउँपालिकामा पटक पटक कुरा उठाएको भए पनि आफ्नो कुरालाई व्यवास्ता गर्ने गरेको बताए । उनले भने, ‘गाउँपालिकाका निवर्तमान अध्यक्ष अक्कल धामी हुँदा देखिनै नयाँ कर्मचारी नियुक्त गर्न आग्रह गरे, अहेव कठायत जनप्रतिनिधिको आफन्त पर्ने भएकाले नै अहिलेसम्म मेरो कुरा व्यवस्था गरियो, अब पनि यस्तै अन्याय हुन्छ भने कानुनी प्रक्रियामा जाने सोचमा छु ।’

यो विषयमा गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले भने गाउँपालिकामा सर्वपक्षीय बैठक बोलाएर अहेव कठायतलाई तलब नदिने निर्णय भैसकेको बताए । उनले दुई वर्षसम्म कर्मचारीलाई सुध्रिने मौका दिएको तर मनोमानी गरेपछि बाध्य भएर उक्त निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रस्ट पारे । गाउँमै पनि एउटा कुरामा सहमति नजुट्ने गरेकाले आफूहरूलाई सहजीकरण र व्यवस्थापनमा सहज नभएको अध्यक्ष चलाउनेको भनाई छ ।

सरकारले २०७५ सालमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७९/८० सम्म सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दीर्घकालीन योजनामा पुरा हुन सकेको छैन । अझै पनि दुर्गमका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । राजस्व सङ्कलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको छ ।
Loading...