प्युठानको झिमरुक गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेका विद्यार्थी नेताले उक्त कुराको खण्डन गरेका छन् । कर्मचारीमाथि हातपात गरेको आरोप लागेका अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष मिलन एमसीले उक्त आरोप झुटो भएको उल्लेख गरेका छन् ।
बुधवार भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका मिलनले रोजगार शाखाका सहायक दीपक जिसीलगायतका व्यक्तिमाथि हातपात गरेको आरोप लागेको थियो ।
विज्ञप्ति जारी गर्दै मिलनले उल्लेख गरेका छन्, ‘योजनाको रकम भुक्तानीका लागि आआफ्नो शैली अनुसार तीव्र छलफल भएको कुरा साँचो हो, त्यहाँ हातपात भएको वा हातपात गर्ने प्रयास भएको भन्ने कुरा विलकुल झुटो हो ।’
विज्ञप्तीमा भनिएको छ, ‘वैशाख २१ गते सात्ले पीपल मैदाना मोटर वाटोको लागी विनियोजन भएको रु १ लाख २० हजार बरावरको काम सम्पन्न गरी उपभोक्ता समितिले झिमरूक गाउँपालिकामा आवश्यक विल भरपाई सहितको फाइल पेस गरिसकेपछि अनुगमन समितिको तर्फवाट अनुगमन भैसकेपछी पनि पटक पटक उपभोक्ता समिति रकम निकासाको लागि गाउँपालिकामा धाउँदा रकम निकासा हुन सकेन ।’
‘पछिल्लो पटक २०८० जेठ २४ गते सोही विषयमा उपभोक्ता समितिका अध्यक्ष र सचिव फाइल सम्बन्धी कुरा गर्न गाउँपालिकामा गएको अवस्थामा म सहित उपभोक्ता समितिका दुई जना योजना फाट र प्रशासकीय अधिकृतसँग जाँदा वृहत् छलफल भएको थियो । छलफलको क्रममा उपभोक्ता समितिका दुई जनाले काम सकिएको र फाइल पेस गरेको एक महिना बितिसक्दा पनि अनुगमन समितिका संयोजक पालिका उपाध्यक्ष प्रमोद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजनल र योजना फाँटका कर्मचारी दीपक जीसीसंग आ-आफ्नो शैली अनुसार तीव्र छलफल भएको कुरा साँचो हो, त्यहाँ हातपात भएको वा हातपात गर्ने प्रयास भएको भन्ने कुरा विल कुल झुटा हो ।’
एउटा योजनाको फाइलको विषयमा कुरा गर्न जाँदा नाम जोडेर नियोजित ढङ्गले चरित्र हत्या गर्ने र बदनाम गराउने विरुद्ध कानुनी प्रक्रियामा जाने मिलनले उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मेरो अनुमति विना मेरो तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा सो प्रति आपत्ति जनाउँदै सो भिडियो खिच्ने खिच्न लगाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने लाई साइवर क्राईम अन्तर्गतको कारवाहीको दायरामा ल्याउने ब्यहोरा यहाँहरू समक्ष जानकारी गराउँदछु ।’