रुकुम पूर्वः लघुवित्तकर्मीको शान्ति, सुरक्षाकाे प्रबन्ध मिलाउनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । सोमबार रुकुम पूर्वमा रहेका ८ वटा लघुवित्तकर्मीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्र बैङ्क र अन्य निकायहरूको नियमन एवं निर्देशनको अधीनमा रही वित्तीय सेवा प्रवाह गरिरहेका लघुवित्तकर्मीले असुरक्षित महसुस गरेको पत्रमा उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरूको छाता सङ्गठन नेपाल लघुवित्त बैंकर्स सङ्घले लघुवित्त क्षेत्रको सुरक्षा र सञ्चालनमा आवश्यक प्रबन्ध गर्नका लागि अनुरोध गरेको छ । उनीहरूले लघुवित्त क्षेत्रमा भइरहेका अवाञ्छित गतिविधिहरूले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने आशङ्का व्यक्त गरेका छन् ।
तत्काल शान्ति सुरक्षाको व्यवस्था नभए सम्पूर्ण सेवाहरूलाई बन्द गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् । पत्रमा भनिएको छ, ‘छाता सङ्गठन नेपाल लघुवित्त बैंकर्स सङ्घ विनम्र अनुरोध गर्दछ । यस्ता गतिविधिहरू निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरूले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरू बन्द गर्नुपर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने ब्यहोरा पनि सम्माननीय प्रधानमन्त्री ज्यूमा अवगत गराउन चाहन्छौँ ।’