घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्लाका व्यवसायीको अनुगमनमा जोड दिएको छ । व्यवसायीले म्याद गुज्रिएका सामाग्री बिक्री वितरण गर्ने गरेको र यसले गर्दा उपभोक्ताको स्वास्थ्य गम्भीर असर पर्ने देखिएकाले घरेलु कार्यालयले अनुगमनलाई तीव्रता दिएको ।
कार्यालय प्रमुख खडक बोहराको नेतृत्वमा बिहीबार जिल्लाको थलारा गाउँपालिकाको खोली बजार, मोरायल बजार, दुर्गाथलीको झनाना, केदारस्युँको रायल लगायतका स्थानीय व्यापारिक केन्द्रमा अनुगमन गरिएको हो । उक्त बजारहरूबाट विभिन्न खाद्य पदार्थ, पेय पदार्थ, मसला, सस, अवैध सुर्ती लगायतका म्याद नाघेका करिब ५१ हजार १ सय २२ रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ ।
यस्तै शनिवार दुर्गाथली गाउँपालिको चौधारी, मौरीबगर, छबिस पाथीभेरा गाउँपालिका १ स्थित भाँडे बजार, भ्यागुते, बगडगाउँ, जयपृथ्वी नगरपालिकाको तमैल लगायतका बजारमा अनुगमनको संयुक्त टोली छिरेको थियो । अनुगमनका क्रममा उक्त बजारहरूबाट विभिन्न किसिमका खाद्य सामाग्रीहरू, जंगफुड, अवैध सुर्तीजन्य पदार्थ र मदिरा गरी ३३ हजार ९ सय १० रुपैयाँ बराबरको सामान भेटिएको हो । उक्त सामान डिस्पोज गरिएको छ ।
साथै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खडक बोहराले सामाग्री उपभोग गर्दा मिति हेरेर मात्रै किनबेच र उपभोग गर्न आग्रह गरेका छन् । दर्ता नभएका पसलहरू अनिवार्य दर्ता गर्न, सामाग्रीको दररेट पसलमा राख्न, सामान राख्दा मिति हेरेर मात्र राख्न, पान नम्बर भएको प्रमाणपत्र पसलमा भुण्ड्याउन व्यापारीलाई भनेका छन् ।