खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बझाङका कर्मचारीकाे भूमिकामा गम्भीर प्रश्न उठेको छ । उनीहरूले एक क्रमागत योजनाको रकम कुम्ल्याउन खोजेका हुन्? संशय उत्पन्न भएको छ । उनीहरूले गरेका हरकतले सो आशङ्कालाई पुष्टि गर्ने ठाउँ दिएको छ ।
छविसपाथिभेरा गाउँपालिका ५ मा लागु भएको खानेपानीको एक क्रमागत योजनाको रकम अपचलन गर्न खोजेको विषय नेपाल एंगलले बाहिर ल्याएको छ । उपभोक्ता समितिलाई गुमराहामाराखी योजनाको रकम अपचलन गर्न खोजेको आरोप कर्मचारीहरूमाथि छ ।
यस्तो छ घटनाक्रमः
२०७८ मा छविसपाभिथेरा गाउँपालिका ५ मा बमर्याल गाउँ खानेपानी योजना सम्झौता भयो । क्रमागत रूपमा लागू भएको योजनाको जम्मा लागत ७ लाख रुपैयाँ थियो । जसमध्ये ३ लाख रुपैयाँ अघिल्लो आर्थिक वर्षमा भुक्तानी भएर काम सुरु भएको छ । प्रक्रिया अनुसार सो योजनामा यस वर्ष ४ लाख रकम विनियोजन हुनुपर्ने थियो । तर उपभोक्ता समितिले खोजिबिन गर्दा रकम नभएको कर्मचारीहरूले बताए । योजनाको थप रकम माग्न उपभोक्ता तथा स्थानीय नेता साेभान धामी बारम्बार खानेपानी कार्यालय पुगे, कर्मचारीहरूलाई फोन सम्पर्क गरे । तर योजनाको रकमान्तर भएको भनियो । ‘क्रमागत यो वर्ष बाँकी रकम आउनुपर्ने हो तर कर्मचारीले बजेट आएन भन्ने जवाफ दिए, उपभोक्ता सोभान धामीले गुनासो गर्दै भने, ‘योजना अन्तै गइसकेको छ भन्छन् के भएको हो थाहा छैन ।’
नेपाल एंगलले रकमान्तर भएको हो वा होइन भन्ने सन्दर्भमा विभिन्न तहका कर्मचारीलाई प्रश्न गर्दा उनीहरू आरोप प्रत्यारोपमा उत्रिएका थिए । खानेपानी कार्यालयको स्टोर हेर्ने प्रेम सिंहले सब इन्जिनियर अस्मित स्वाँर र सुपरभाइजर उत्तम भण्डारीले रकमान्तर गरेको आरोप लगाएका थिए । कार्यालय प्रमुख परिवर्तन भएको बेला स्वाँर र भण्डारीको मिलेमतोमा सो योजनाको रकमान्तर गरिएको उनको भनाई थियो । ‘अस्मित स्वाँर र उत्तम भण्डारीले योजनाको रकमान्तर गरेका रहेछन् । सब इन्जिनियर अस्मित स्वाँर र उत्तम भण्डारीले कसरी यसो गरे थाहा छैन । उनीहरूलाई सोध्नुपर्छ यसमा मलाई केही थाहा छैन,’ प्रेम सिंहले भने ।
प्राविधिक तथा सुपरभाइजर उत्तम भण्डारीले सो बारेमा माथिल्लो तहका कर्मचारीलाई थाहा हुने बताए । यसबारेमा आफूलाई जानकारी नभएको उनको सुरुवाती अडान थियो ।
घटनाक्रममा ट्विस्ट
यो विषयमा खोजकै क्रममा हामी खानेपानी कार्यालयका तालुक निकायसँग जानकारी लिने काम गरिरहेका थियौँ । त्यसैबिच उपभोक्ता सोभान धामीले खानेपानी कार्यालयबाट पाइप लिनका लागि कर्मचारीले फोन गरेको जानकारी दिए । केही दिन अघिसम्म रकम नै नभएको भनेर घर फर्काइएका उपभाेक्ता समितिका पदाधिकारी अब एकाएक पाइप मात्रै होइन थप पैसा पनि पाउने भए । रकमान्तर भएको रकम फेरी आश्चर्यचकित तरिकाले सोही शीर्षकमा फर्कियो । नेपाल एंगलको एक/दुई फोनले खानेपानी कार्यालयमा चमत्कार नै भयो । रकमान्तर भएको चार लाख एकाएक पुरानै शीर्षकमा फर्कियो । यो अलौकिक चमत्कार प्रत्यक्ष भोगी सकेपछि हामीले पुनः तीनै कर्मचारीहरूलाई यसको रहस्यको बारेमा जिज्ञासा राख्यौँ । प्राविधिक उत्तम भण्डारीले भने यता कुरा मिली सक्यो तपाईँको के टाउको दुखाई?
केही दिनअघिसम्म बजेट नै काटिएको शीर्षकमा एकाएक कसरी बजेट आयो? कर्मचारीहरूले किन बजेट आएको छैन भने? उनीहरूको नियत के थियो? खानेपानी कार्यालयको पारदर्शिता र कर्मचारीको नियतमाथि गम्भीर प्रश्न उठेका छन् । कतै त्यो रकम कुम्ल्याउन खोजिएको त थिएन? सरोकारवालाहरू सशङ्कित भएका छन् ।
क्रमागत योजनामा पनि यो खालको बदमासी हुने गरेको जानकारहरू बताउँछन् । सो विषयसँग जानकार त्रिदेव जप्रेल भन्छन्, ‘प्रायः जसो बझाङका विकासे कार्यालयमा यस्तो भइरहन्छ । १० प्रतिशतसम्म कमिसन दिए आवश्यकता नभएको ठाउँमा पनि बजेट आउँछ । पैसा नदिए आयको योजना कार्यान्वयन गर्न धौधौ हुन्छ ।
(प्राविधिक कारणले अडियो व्याकअपमा राखिएको छ)