जिल्ला अस्पताल बझाङ : अघिल्लो दिन पुरस्कृत, पछिल्लो दिन विवादित 

जय पृथ्वी नगरपालिका – ७ धौनाउँका हरिचन्द्र बोहरा की श्रीमती सुनिताले पेटमै बच्चा गुमाएकी छिन् । ३ महिनाको गर्भाशयमा पेट दुख्ने र रक्तस्रावको समस्या देखियो । हरिचन्द्र श्रीमती लिएर जिल्ला अस्पताल सिम खेत आउँछन् । श्रीमतीलाई इमर्जेन्सी वार्डमा राखेर पुर्जा काट्न काउन्टर पुगे । तर टिकट काट्ने कर्मचारीले विद्युत् छैन, अबको २ घण्टापछि विद्युत् आउँछ पर्खनुहोस् भनेको उनी बताउँछन् । रक्तस्राव भएकी श्रीमतीलाई हेरिदिन हारगुहार गरेको बोहरा बताउँछन् । ‘ श्रीमतीको अवस्था चिन्ताजनक रहेको बारे अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि चाँसो देखाइएन । उल्टै एक कर्मचारीले आक्रोशित  भएर जेनरेटर बिग्रेको छ भन्दै झपारे ।
उनले भने, ‘जिल्ला अस्पतालमा बिरामीलाई प्रत्येक कक्षमा झेलाइन्छ । निजीमा जानुपर्ने थियो, यहाँ किन आएको भन्दै झपार्छन् । औषधी लिएर आएँ तर त्यो औषधीले श्रीमतीको पेट दुख्न कम भएन । त्यसपछि हामी सदरमुकाम स्थित जय पृथ्वी अस्पतालमा गयौँ । त्यहाँ पुग्ने बित्तिकै पेटको भिडियो एक्स–रे गर्दा बच्चाको मृत्यु भइसकेको छ भन्ने रिर्पाेट दियो ।’

 

यता जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशीले अस्पतालको लापरबाही नरहेको बताएका छन् । उनले भने “अस्पताल आउँदा बिरामीको अवस्था नर्मल नै थियो । हामीले दिने उपचार दिएका छौँ । हिजो विद्युत् आएको थिएन । जेनरेटरमा समस्या आएको थियो हामी बनाउँदै थियौँ । त्यही भएर ढिलो भयो । एक छिन पर्खिनुस् भन्दा उहाँ रिसाएर जानु भयो” हाम्रो केही पनि कमीकमजोरी छैन । उहाँको जाँच, मिस्टीकेशन गर्नमा ढिलो भएको हो । हाम्रो पुर्जामा लेखेका कुराहरू यहाँ सुरक्षित छन् । पुरै रक्तस्राव भएर बेहोस अवस्थामा थिएन, दुखाई अलिकति थियो होला त्यसको उपचार पनि सुईबाट दिई सकेको हो, तर ब्लड प्रेसर, प्लस पनि ठिकै थियो ।
जिल्ला अस्पतालमा समयमै उपचार पाउन मुस्किल :
पछिल्लो समय जिल्ला अस्पताल बझाङमा समयमै उपचार पाउन मुस्किल हुने गरेको कतिपय नागरिकले गुनासो गर्ने गरेका छन् । अस्पताल प्रशासनको चरम लापरबाहीका कारण कयौँको ज्यान नै खतरामा पर्ने गरेको छ । समयमै बिरामीलाई भेट्न डाक्टर आउँदैनन् । सेवा लिनकै लागी घण्टौँसम्म लाइनमका बस्नु परेको हुन्छ । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको न अनुहार राम्रो हुन्छ, न उनीहरूले बिरामीलाई गर्ने व्यवहार राम्रो हुन्छ । नत उनीहरूको बोल्ने तुच्छ शैली नै राम्रो हुन्छ ।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशी सेवा लिनेको सङ्ख्या वृद्धि भएको दाबी गर्छन् । कर्मचारीहरुकको व्यवस्थापन चुस्त दुरुस्त भएको दाबी गर्छन् । केही अघि जिल्ला अस्पताल देशकै उत्कृष्ट बन्ने लक्ष्यमा रहेको बताएका थिए ।
जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंहले अघिल्लो आर्थिक वर्षमा जिल्ला अस्पताल देशकै दोस्रो नम्बरमा आएको फुर्ती लगाउँछन् । हिजो भएको सार्वजनिक सुनुवाइमा समेत अध्यक्ष सिंहले सो स्मरण गराएका थिए । उनले अस्पतालमा खानेपानी र बिजुलीको समस्याको समाधान भए देशकै उत्कृष्ट अस्पताल कसरी बनाउन सकिन्छ भनेर बारेमा आफू हरदम लागिपर्ने बताउँदै आएका छन् ।
Loading...