केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एक सार्वजनिक कार्यक्रममा कड्किए । रास्वपाको सिन्धुली काठमाडौँ समर्पक विभागको उक्त कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा ‘मिसन ८४’ पटक पटक दोहोर्याए ।
सम्बोधनकै क्रममा रबीले भने, ‘उम्मेदवार छनोट गर्दा सदस्यता र पार्टी किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौँ भने हामीले भएको सिट २१ सिट लाई पनि जोगाउन गाह्रो हुन्छ । सुन्दा नराम्रो लाग्ला तर सत्य यही हो ।’
रबीले जोड दिँदै भने, ‘अबको पालो त घण्टी नै होला भनेर स्वार्थवश आउने चाहाना भएकाहरूलाई आजै बिदा गर्न चाहन्छु । आउनुस् आजै छुट्टिऔँ । त्यस्तो स्वार्थ लिएर जोडिएका पनि छन् । तपाई स्वार्थसँग जोडिएका थुप्रै पार्टीहरू छन् तिनीहरूको ढोकासम्म म आफै पुर्याइ दिन्छु ।’
यो अवधिमा रास्वपा बझाङका संयोजक नगेन्द्र खड्कालाई रास्वपाले निलम्बन गरेको थियो । रास्वपाले पत्रकारमाथि हातपात गरेको आरोपमा खड्कालाई सदस्यताबाट निलम्बन गरेको थियो । भने ‘अनुशासन समितिले थप अनुसन्धान गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले बताएका थिए ।
पत्रकार मण्डेलमाथि आक्रमण भएको दुई साता नबित्दै रास्वपाले निलम्बित खड्काकालाई पुनः स्थापित गरेको छ । बिहीबार रास्वपाको केन्द्रीय कमिटीको बैठकले खड्काको निलम्बन फुकुवा गरेको हो । यद्यपि रुपन्देही जिल्ला संयोजक दामोदर खत्रीलाई भने तीन महिना पार्टीबाट निलम्बन गर्न निर्णय गरेको छ ।
निलम्बित खड्का कसरी निर्दोष देखिए?
यो बुझ्न घटनाको पृष्ठभूमितिर जाऔँ । नेपाल एंगलमा कार्यरत सुनिल मण्डेल र रास्वपा संयोजक तथा व्यवसायी नगेन्द्र खड्काबिच एउटा विज्ञापन सम्झौता हुन्छ । खड्काले सञ्चालन गरेको होटेल होलिडे इन्को विज्ञापन गर्ने सो बापत खड्काले एक वर्षको २४ हजार शुल्क तिर्ने, विज्ञापन दाताले जम्मा शुल्कको ५० प्रतिशत सुरुमै भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सोही अनुसार अनलाइनले विज्ञापन प्रकाशन गर्दछ । तर, सम्झौता भएको एक महिनाको अवधिमा खड्काले विज्ञापन भङ्ग गर्न पत्रकार मण्डेललाई दबाब दिन्छन् । मण्डेलले सम्झौता अनुसार विज्ञापन रद्ध गर्ने भए ५० प्रतिशत भुक्तानी गर्न अनुरोध गरेपछि खड्का अटेर गर्छन् ।
त्यसपछि पत्रकार मण्डेलले, एउटा फेसबुक स्टाटस लेख्छन्, ‘आदरणीय रास्वपाका नेता ज्यू, तपाई आफै व्यवसायी पनि हो, राजनीति कर्मी पनि हो । मिडिया कर्म हाम्रो पेसा र व्यवसाय हो । हामीले विज्ञापन प्रकाशनमा कुनै कमजोरी गरेका छैनौँ । तपाईँका न्युज स्टोरी कभर विगतमा कभर गरेको र गर्दै आएको ब्यहोरा समेत अवगत गरिन्छ । तसर्थ, सरलाई सम्झौता र सर्त अनुसार व्यवहारिक हुनु अनुरोध गर्दछु ।’ मण्डेलले लेखेको यति नै हो ।
उनले यो फेसबुकमा पोस्ट गर्नु अगाडि नगेन्द्र खड्कालाई पनि फेसबुक म्यासेजमा पठाएका छन् । तर, खड्का बेवास्ता गर्छन् । मण्डेलले स्ट्याटसले रास्वपाका केही नेता कार्यकर्ताको ध्यानाकर्षण हुन्छ । सोधखोज भएपछि खड्का आफै फोन गरेर पत्रकार मण्डेललाई फेसबुक स्ट्याटस हटाउन र माफी माग्न धम्की दिन थाल्छन् । मण्डेलले आफू अन्यायमा परेको भन्दै स्ट्याटस नहटाउने बताउँछन् । योबिचमा खड्काले जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीलाई समेत परिचालन गर्छन् । डिएसपीले फोन गरेर पत्रकार मण्डेललाई उक्त स्ट्याटस हटाउन निर्देशन दिन्छन् ।
मण्डेलले लेखेको फेसबुक स्ट्याटसमा गाली गलौज थिएन, असभ्य भाषा थिएन, अमर्यादित शब्द पनि थिएनन्, साइबर अपराध पुष्टि हुने कैफियत पनि थिएन । सामान्य अनुरोध थियो । यत्ति त नागरिकको अभिव्यक्ति स्वतन्त्रभित्र पनि पर्छ । तर, खड्कालाई त्यति सामान्य अनुरोध पाच्य भएन । उक्त स्ट्याटस नामेट पार्न न्वारनदेखिको बल लगाउन थाले । प्रहरी प्रमुखको पदीय दुरुपयोग समेत गर्न खड्का उद्धत भए । कुनै उजुरवाजुर, अभियोग विना खड्काले त्यो पत्रकारलाई सम्झाउनु वा थर्काउनु पर्यो भनेको भरमा डिएसपीले फोन गरेर स्ट्याटस हटाऊ भन्नुको पछाडि के रहस्य छ त्यो खड्का र डिएसपी भण्डारीले नै जानुन् । डिएसपी भण्डारीलाई नेपाल एंगलको माथिल्लो तहबाट फोन गएपछि उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्र नपरेको र सामान्य अनुरोध मात्रै गरेको बताउँछन् ।
पत्रकार महासंघ बझाङका पदाधिकारीसँग खड्काले पत्रकार मण्डेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गर्छन् । साथै, उक्त स्ट्याटस हटाएर माफी गर्न लगाउनु पर्ने अडान लिन्छन् । पत्रकार महासंघले खड्काको अडानमा सान्दर्भिकता नदेखिएपछि सुनुवाइ गर्दैन ।
नियन्त्रणमा लिएर कुटपिट र दबाबमा माफी
प्रहरी र पत्रकार महासंघ परिचालन गर्न नसकेका खड्काले आफ्नै छोरा बासु खड्कालाई परिचालन गर्छन् । बासु खड्का लागु औषध प्रयोगकर्ता हुन् । बुवाको आदेश पाउने बित्तिकै पत्रकार मण्डेलको कोठामा गएर अनुहारमा मुक्का प्रहार गर्छन् । मण्डेलको कोठामा श्रीमती र ससाना छोराछोरीसँगै थिए । त्यसपछि ‘बुवासँग माफी माग्न हिँड’ भन्दै लतार्छन् । मण्डेल निरीह बन्छन् । मण्डेल बस्दै आएको ठाउँबाट खड्काको होटेल ५ सय मिटरको दुरीमा छ । खड्काका छोरा बासु खड्काले लखेट्दै होटेलमा पुराउँछन् । नगेन्द्र खड्काले मुख छोडेर गाली गर्छन् । पुनः बासु खड्काले हातपात गर्छन् । फेसबुकमा गलत लेखेको भन्दै नियन्त्रणमा लिएर फेसबुकमा लेख्न लगाउँछन् । र भिडियो पनि खिच्छन् ।
फेसबुक लाइभ र निलम्बन
अमानवीय तरिकाले नियन्त्रणमा लिई कुटपिटमा परेका मण्डेल सपरिवार सदरमुकाम छोड्छन् । कुनै भूमिगत ठाउँमा गएर नगेन्द्र खड्काको निर्देशनमा आफूमाथि कुटपिट भएको भन्दै फेसबुक लाइभ गर्छन् । सामाजिक सञ्जालमा मण्डेलको लाइभले तरङ्ग ल्याउँछ । पत्रकारका संघसंगठनले विज्ञप्ति निकाल्छन् । सो विषय मूलधारका मिडियामा छापिन्छ । रास्वपाले खड्कालाई निलम्बन गरेको उद्घोष गर्छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि मिलापत्र
साउन ९ गते मण्डेल जिल्ला प्रहरी कार्यालय बझाङमा कुटपिट, अपहरण तथा ज्यानसम्बन्धि मुद्धा लिएर गए । तर, प्रहरीले जाहेरी लिन मानेन । कुटपिट भएको घाउ देखाउनु पर्ने प्रहरी अधिकृतहरुको माग थियो । मण्डेलमाथि भएको घटना बुझ्ने प्रयाससम्म प्रहरीले गरेन । प्रमाण नपुग्ने अडान उनीहरुको थियो । मुद्धा दर्ता गरेर प्रमाण जुटाउन सक्ने बाटोमा प्रहरी जान चाहेन । मण्डेललाई लखेट्दै ल्याएको सिसिटिभि फुटेज बजार क्षेत्रका सिसि क्यामेरामा अझै भेटिएलान् । प्रहरीले नै जडान गरेका सिसि क्यामेरामा त्यो दृश्य अझै सुरक्षित हुन सक्छन् । मुद्धा दर्ता हुने छाटकाट देखिएन । यता खड्काका छोरा बासु खड्काले पत्रकार मण्डेललगायत थुप्रै पत्रकारहरुलाई पूर्ण म्यासेज पठाइरहेका थिए । पत्रकार प्रताप ओलीलगायतलाई बासु खड्काले ठीक पार्ने भन्दै फेसबुकमा धम्की दिइरहेका थिए ।
प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि पत्रकार मण्डेल थप हतोत्साहित भए । पत्रकार महासंघका पदाधिकारीहरुले पनि मुद्धामामिलामा झेलिनुभन्दा मिलेर अगाडि बढौं भन्न थाले । प्रहरीले फिर्ता गरेपछि सरकारी वकिल कार्यालयबाट मुद्धा दर्ता गराउनु पर्ने विकल्प बाकी थियो । यद्यपी पत्रकार महासंघका पदाधिकारीहरुले मिलेरै जानुपर्ने दबाब दिएपछि मण्डेल नकार्न सक्ने अवस्थामा रहेनन् । चोटपटक लागेको सामान्य क्षतीपुर्ती दिने र खड्का बाउछोराले आत्मालोचित हुने शर्तमा मिलापत्र भयो ।
नगेन्द्र खड्काले मिडियामा, छलफलमा बारम्बार आफ्नो संग्लनता नरहेको झुटो रटान लगाउँछन् । अपाच्य शब्दै प्रयोग गर्दै त्यसलाई (पत्रकार मण्डेललाई) उठाउन लाएको छुँ, हेर्दै जानुहोला के के गर्छुंभनेको अडियो रास्वपाका नेताहरुसँग पुगेको छ । खड्काले सो अभिव्यक्ति दिएको आधा घण्टा नबित्दै पत्रकार मण्डेलमाथि उनका छोराले आक्रमण गरे । खड्काले स्वयं हातपात गरेको होइन तर हातपात गर्न लगाउने मतियार उनी हुन् भन्न सकिने आधार सोही अडियोले दिएको छ । तर, रास्वपाको छानविन समितिले त्यो पुरै नजरन्दाज गर्याे ।
प्रहरीले जाहेरी लिएको भए खड्कामाथि अहिले अनुसन्धान भइरहेको हुन्थ्यो । तर, प्रहरीले मुद्धा लिएन । खड्का राजनितिक फिरन्ते पृष्ठभूमिका व्यक्ति हुन् । नेपाली काँग्रेस, नेकपा एमाले हुँदै रास्वपा प्रवेश गरेका उनीसँग सभापति रबीले भने जस्तो कार्यकर्ताका भोट किन्न सक्ने पैँसाको बिटो छ । पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौँ भने हामीले भएको सिट २१ सिट लाई पनि जोगाउन गाह्रो हुने आकलन गरेका रबीले यस घटनाको छानबिनबारे कस्तो न्याय दिए? त्यो छानबिन समितिका पदाधिकारीलाई नै अबगत होला तर यो छानबिनले रास्वपालाई मिसन ८४ मा कहाँ पुर्याउँछ त्यो भने हेर्न बाकी नै छ ।
पैसाकै आडमा खड्का बाउ छोराका अमानवीय हरकत मौलाउँदै गइरहेका छन् भन्दा अतिशयोक्ति नहोला । यसअघि पनि बासु खड्काले सदरमुकाममा थुप्रै व्यक्तिमाथि हात उठाइसेका छन् । सदरमुकाममा ग्यारेज सञ्चालन गर्दै आएका पदम थापा, सुर्मा देवी निर्माण सेवाका एक ठेकेदारमाथि बासु खड्काले हातपात गरेका थिए । ती घटना पनि यसरी नै मिलापत्र गरिएको थियो ।