सत्यवादीमा बेतिथि: छात्रवृत्तिको रकमले सालिक निर्माण 

बझाङः छबिसपाथिभेरा गाउँपालिका-२ स्थित सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यसपटक छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । यो आर्थिक वर्षको छात्रवृत्ति साउनमै पाइसक्नु पर्ने भए पनि हालसम्म पाउन सकेका छैनन् ।

दलित तथा विपन्न विद्यार्थी छात्रवृत्ति नपाउँदा आर्थिक समस्या झेल्नु परेको छ । परीक्षा शुल्क, कलम, कापीमा थोरै भए पनि राहत हुने गरेकोमा यस वर्ष विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् ।

शिक्षा विभागले गएको वर्ष प्रकाशन गरेको छात्रवृत्ति सम्बन्धी ‘कार्यक्रम कार्यान्वयन पुस्तिका’ मा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका दलित छात्रछात्रा र अन्य समुदायका छात्राले वार्षिक रु ४०० तथा कक्षा ९ र १० का दलित छात्रछात्रालाई रु ५०० दिने गरेको छ ।

सत्यवादी माविका प्रधानाध्यापक भैरव कठायतले छात्रवृत्तिको रकम अन्य पर्योजनका लागि खर्च भएको बताए । विद्यालयमै जयपृथ्वी बहादुर सिंहको सालिक निर्माण गर्न उक्त रकम खर्च भएको प्रअ कठायतको भनाइ छ ।

‘छात्रवृत्ति बाफत ५८ हजार ६ सय आएको थियो । त्यो रकम सालिक निर्माण गर्ने व्यक्तिलाई दियौँ, उनले भने, ‘सालिक निर्माण गरेको रकम गाउँपालिकाबाट निकासा हुन बाकी रहेकोले अहिले छात्रवृत्तिको रकम प्रयोग गरेका हौँ ।’ सालिक निर्माण गरेको रकम गाउँपालिकाबाट निकासा भए उक्त रकम विद्यार्थीलाई वितरण गरिने प्रअ कठायतले बताए ।

छात्रवृत्तिको रकम वितरण सम्बन्धी कागजात कतै बुझाउनु नपर्ने र अनुगमन पनि नहुने भएकाले मनपरी खर्च भएको जानकारहरू बताउँछन् । छात्रवृत्तिको रकम दुरुपयोग भए स्थानीय तह जिम्मेवार हुने शिक्षाविदहरुको भनाइ छ ।

छात्रवृत्तिको रकम दुरुपयोग गर्नु भ्रष्टाचार भएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । उनी भन्छन्, ‘जसको लागि छुट्टाएको रकम हो, उसैले नपाउनु भ्रष्टाचार हो । कतिपय विद्यालयका प्राध्यापकले त छात्रवृत्तिको रकम आफ्नै गोजीमा राखेको समेत पाइएको छ ।’

Loading...