बिर्सतीमा पुरस्कार राशी: भलिबल प्रथमलाई १ लाख २५ हजार, अरूलाई कति?

बिर्सती मेलामा आयोजना हुने विभिन्न कार्यक्रमको जानकारी तथा आमन्त्रयिताका लागी आयोजक समितिले सूचना सार्वजनिक गरेको छ । बिर्सती मेला मूल व्यवस्थापन समितिले शनिवार एक सूचना सार्वजनिक गर्दै आयोजना गरिने कार्यक्रम बारे जानकारी गराएको हो । बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको थली नौबिस क्षेत्रको मध्ये भागमा अवस्थित बिसौना बजारमा भाद्र १९ गतेदेखि सुरु हुने बिर्सती मेलामा चर्चित कार्यक्रम इन्द्रेणी टिमका कलाकारहरूको समेत उपस्थिति रहने छ ।

मेलामा साँस्किृतीक कार्यक्रम, देउडा, ढाँका नाच, चाभाई, भुवा नाच, खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता, विभिन्न स्थानीय पोसाकमा झाँकीहरूको प्रस्तुति रहने मेला आयोजक समितिले जनाएको छ । विभिन्न कार्यक्रमका लागी बिर्सती मेला मूल आयोजकको बिसौना बजारमा रहेको सचिवालय कार्यालयमा सम्पर्क गरेर टिम÷नाम दर्ता गराउन सकिने पनि आयोजक समितिले बताएको छ ।

आयोजना हुने खुल्ला महिला, पुरुष भलिबल प्रतियोगितामा पुरुष भलिबल तर्फको प्रथम पुरस्कार रु.१ लाख २५ हजार ९ सय २०, द्धित्तीय पुरस्कार रु. ६५ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ३० हजार ९ सय २० र सान्त्वना पुरस्कार रु. ९ हजार ९ सय २० रहेको छ । टिम दर्ता शुल्क ३ हजार ५ सय लाग्ने छ ।

 

यस्तै महिला तर्फको खेलमा प्रथम पुरस्कार रु. ४१ हजार ९ सय २०, द्धित्तीय पुरस्कार रु. १९ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ९ हजार ९ सय २०, सान्त्वना पुरस्कार रु. ४ हजार ९ सय २० रहेको छ । जसमा टिम दर्ता शुल्क १ हजार ५ सय तोकिएको छ ।

बिर्सती मेला आयोजक समितिले जारी गरेको सूचना

बिर्सती मेलालाई सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मानिन्छ । २० गते विशेष दिनको मनाइने भएकोले यो पर्वको नाम बिर्सती रहेको मान्न सकिन्छ । यो थलिदुर्गा मन्दिरमा मेला लाग्ने गर्दछ । बिहानैदेखि पूजाआजा गरेर थलि दुर्गाको मन्दिरबाट नै महिलाहरूले चाँभाइ खेल लगाउने गर्दछन् । दिनभर बिसौनाचौरमामा चाँभाई लगाइसकेपछि बिर्सती पर्व समापन भएर मेलाको सुरुवात हुन्छ । २१ गतेबाट सांस्कृतिक कार्यक्रम, देउडा दोहोरी, भलिबल प्रतियोगिता हुन्छन् ।

किसानले असार, साउनको खेतीपाती रोप्ने काम सकेपछि यो मेला मनाइन्छ । देश विदेशबाट स्थानीय बिर्सतीको अवसर पारेर गाउँ फर्कन्छन् । टाढाबाट आएका इष्टमित्र मेलामा भेट हुन्छ । भलाकुसारी हुन्छ । जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिले देउडा खेल्छन् । सुख, दुःख साटासाट गर्छन् । दुःख बिर्साउने अवसर विर्सतीले जुराउने हुनाले यो मेलाको नाम ‘बिर्सती’ रहेको मान्न सकिन्छ ।

Loading...