एक हप्तापछि फेला पर्यो कागबेनीमा बाढीले बगाएको डेढ करोड बढी रुपैयाँ

गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको छ । बाढिले बगाएकाे ठिक एक सातापछि साे रकम फेला परेकाे हाे ।

ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

‘प्रभु बैंकको भवन नै बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर फेला परेको हो। लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ रहेको जानकारी बैंकले दिएको थियो,’ प्रजिअ केसीले सेतोपाटीसँग भने ।

बाढीले इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको थियो । बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।

‘नेपाली सेना, प्रहरी र स्थानीयबासी सबै मिलेर भग्नावशेष खोतल्ने, सामानहरू निकाल्ने गरिरहेका थियौं । त्यही क्रममा आज दिउँसो २ बजेतिर १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ राखिएको लकर फेला  पारेका छौं। पैसा बैंकले बुझिसकेको छ,’ उनले भने, ‘लकर बाहिर पाँच-दस रुपैयाँ केही थान नोट फेला परेका थिए । तीचाहिँ पानीले भिजेको अवस्थामा थिए ।’

Loading...