बझाङ सदरमुकाम चैनपुरमा सोमबार राती एक परिवारमाथि चक्कु प्रहार भएको छ । सुर्मा गाउँपालिकाको वडा नं ३ घर भई सदरमुकाम चैनपुर बस्दै आएका कलक विकको परिवारमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको हो ।
चक्कु प्रहारबाट घाइते हुनेमा २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य विक र ४ वर्षीय आबेल रहेका छन् । पीडितका बुवा र श्रीमान् कलक विकका अनुसार आक्रमणकारीले घरमै प्रवेश गरेर क्रूर ढङ्गले आक्रमण गरेका थिए । डरलाग्दो आक्रमण गरी एन्ड्रोइड मोबाइल फोन चोरी गरेको समेत विकले बताएका छन् ।
आक्रमणकारीले सुतिरहेका उनीहरूलाई छुरा प्रहार गरेको बताइएको छ । ‘आक्रमणकारीहरूले आफ्नो पहिचान लुकाउन मास्क लगाएका थिए’ घाइते श्रीमतीलाई उद्धृत गर्दै विकले भने ।
निर्मम आक्रमणबाट जेठा छोरा आदित्य विक परिवारका अन्य सदस्यभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई जिल्ला अस्पताल लगिएकोमा अहिले उनीहरूको उपचार भइरहेको छ ।
यस जघन्य अपराधले समुदायलाई स्तब्ध र त्रसित बनाएको छ । प्रशासनले घटनाको छानबिन गरी दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने आवाज उठिरहेको छ । डरलाग्दो आक्रमणको पछाडिको उद्देश्य थाहा नभएको कलक बताउँछन् ।
जिल्ला अस्पतालमा उपचारत रहेकी सुनितासँग नेपाल एङ्गलकर्मी सुनिल मण्डेलले घटनाकाे बारेमा जानकारी लिएका छन् ।