यस वर्षको जयपृथ्वी पत्रकारिता पुरस्कारबाट नेपाल एङ्गल सम्मानित भएको छ । पुरस्कारको अनलाइन विधातर्फ नेपाल एङ्गल सम्मानित भएको हो ।
राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहको जन्म जयन्तीमा वितरण गरिने सो पुरस्कारबाट यस पटक नेपाल एङ्गल सम्मानित भएको छ । सिंहको १४७औँ जन्म जयन्तीको अवसरमा पत्रकार महासंघ बझाङ शाखाले सो सम्मान गरेको छ । एङ्गल मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित नेपाल एङ्गलका तर्फबाट संवाददाता सुनिल मण्डेलले सम्मान, प्रमाण पत्र र नगद रकम ग्रहण गरेका छन् । छविसपाथिभेरा गाउँपालिकाले स्थापना गरेको सो पुरस्कार प्रत्येक वर्ष भाद्र ७ गते वितरण गरिन्छ ।
पत्रकार महासङ्घ बझाङ शाखा अध्यक्ष सैलेन्द्र रोकाया, पूर्व अध्यक्ष जगत खड्का तथा सचिव ललित सिंहले प्रमाण पत्र र पुरस्कारको रकम हस्तान्तरण गरेका थिए ।
यो वर्षको जयपृथ्वी पत्रकारिता पुरस्कार रेडियो विधातर्फ बझाङ एफएमलाई दिइएको छ । साथै, पत्रकारहरू प्रताप ओली, डिवि विस्ट र प्रदीप मलासी सम्मानित र पुरस्कृत भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नरबहादुर बाेहरा रहेका थिए । पत्रकार महासङ्घ बझाङ शाखाको कार्यालय चैनपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।