छबिस पाथिभेरा गाउँपालिका – ३ स्थित बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयको ल्याब असिस्टेन्ट प्रशिक्षक सहायकको परीक्षा गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
गत साउन १८ गते सञ्चालन गरिएको परीक्षा विवादित बनेपछि परीक्षा स्वच्छ निष्पक्ष ढङ्गबाट हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बझाङ उजुरी निवेदन परेको थियो । सोही उजुरीको आधारमा विवादित परीक्षा नतिजाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले सो परीक्षाको सम्बन्धमा शिक्षा नियमावली २०५९ (नवौँ संशोधन) को नियम ९७ को उपनियम (२) तथा (३) मा तोकिएको बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्ने प्रावधान समेतको पालना गर्न, योग्य उमेदवारहरु समेत सहभागी गराउँदा परीक्षालाई थप प्रतिस्पर्धात्मक बनाइ शैक्षिक गुणस्तरमा अपेक्षित सुधार गर्न र शिक्षक छनोट समितिले उल्लेखित पदका लागी करारमा शिक्षक पदपूर्ति गर्दा सङ्घीय वा प्रदेश लोकसेवा आयोगद्वारा निर्धारित पाठ्यक्रम बमोजिम लिखित परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गरी सिफारिस गर्दा कानुन सम्मत र वैधानिक समेत हुने छानबिन समितिको ठहर रहेकोले बान्निचौर माविलाई साउन १८ गते सञ्चालन गरिएको परीक्षाको विज्ञापन रद्द गरी पुनः करारमा शिक्षक पदपूर्ति गर्ने प्रक्रिया अपनाउन उपयुक्त देखिएको भनी प्रतिवेदन पेस गरेकोले सोही बमोजिम कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
परीक्षा स्थानीय तह र शिक्षा विकास समन्वय इकाई मातहत भएकाले गैरकानुनी नतिजा सार्वजनिक गर्नेलाई त्यही निकायले कार्वाही गर्ने प्रजिअ पाण्डेले बताए । उनले भने, ‘हामिले के भएको हो भनेर छानबिन गर्यौं । कार्यान्वयनका लागी प्रतिवेदन पठाएका छौं । अब पालिका र शिक्षा समन्वय इकाईले हेर्छ ।
यस्तै बान्निचौर माविले पनि अर्को विज्ञापन जारी गरेको छ ।
२०७८/७९ मा प्रशिक्षक सहायक माग गरिएको विज्ञापनको परीक्षा साउन १८ गते छबिस पाथिभेरा गाउँपालिकाको शिक्षा शाखामा भएको थियो । परीक्षामा सहभागी उम्मेदवारले अन्तर्वार्तामा सक्कल प्रमाणपत्र नदेखाएको, आवश्यकता अनुसारको प्रमाणपत्र नभएको, मोबाइलमा भएको फोटोको आधारमा छनोट गरिएको, नतिजा बाहिर सार्वजनिक नगरी भित्रबाट सामाजिक सञ्जालमा बधाई दिइएको भन्दै वैकल्पिक उम्मेदवार झलक बोहराले विरोध जनाएका हुन् ।
परीक्षा पक्षपोषण नभई स्वच्छ र निष्पक्षपात हुनुपर्ने माग राख्दै बोहरा पक्षले विद्यालय, स्थानीय तहमा शान्तिपूर्ण आन्दोलन गर्दै तालाबन्दी समेत गरेका थिए । पक्षतकार परीक्षा नतिजा बारे यथाशीघ्र छानबिन गर्न पनि बोहराले जिल्ला प्रशासन कार्यालय बझाङमा उजुरी निवेदन दिएका थिए ।