किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्नेछन् ।
एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन सकिन्छ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।
विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।
अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना रहेको छ ।
सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) लाई आग्रह गरेको छ । अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभी विरुद्धको खोप आउने आशा राखिएको छ ।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका हृयुमन प्यापिलोमा भाइरस ९एचपीभी० को कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।
चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।
चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।
एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।
एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।