अहिले जुनसुकै प्रयोजन वा अवसरमा लगाउने मिल्ने जुत्ता-चप्पलका लागि विदेशी ब्रान्ड खोज्नुपर्ने बाध्यता छैन। बजारमा नेपाली जुत्ता-चप्पलका अनेक ब्रान्ड छन्। स्वदेशी उत्पादन लगाउन चाहने ग्राहकले थरीथरी डिजाइन पाउन सक्छन्।
यस्तै थरीथरीका जुत्ता-चप्पल बनाउने नेपाली ब्रान्डमध्ये एक हो ‘रन सुज।’
बजार प्रवेश गरेको एक दशकमै रन सुज आफ्नो नाम जस्तै दौडिएको छ। यसले हाल एक हजार डिजाइनका जुत्ता-चप्पल उत्पादन गर्दै आएको कम्पनीका सञ्चालकमध्येका एक रूद्र न्यौपाने बताउँछन्।
‘रन सुजले हाल करिब एक हजार डिजाइन उत्पादन गर्छ र वार्षिक कम्तीमा आठ लाख जोर जुत्ता-चप्पल बजारमा पुर्याउने गरेको छ,’ रूद्रले भने।
रन सुजले महिला, पुरूष र बालबालिकाका लागि सबै खाले जुत्ता-चप्पल उत्पादन गर्छ। कम्पनीबाट सेना, प्रहरी र खेलाडीहरूका व्यावसायिक जुत्ता पनि उत्पादन हुन्छन्।
‘नेपाली ब्रान्डमा छालाको अफिसियल जुत्ता मात्र बढी चल्तीमा थियो। तर उपभोक्ताहरू नेपाली उत्पादन नै खोज्थे,’ उनले भने, ‘हामीले बजारमा नेपाली उत्पादनको माग राम्रो छ भन्ने थाहा पायौं तर नाम चलेका कम्पनीले माग धान्न सकेका थिएनन्। त्यही स्थिति विचार गरेर हामीले रन सुज स्थापना गर्यौं।’
रूद्र शिक्षण पेसा छाडेर जुत्ता-चप्पल व्यवसायमा आएका हुन्। सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनी गाउँकै स्कुलमा कक्षा १० सम्म पढेर २०५१ सालमा काठमाडौं आएका थिए। स्नातक तहसम्मको पढाइ पूरा
गरेर गाउँ फर्के। गाउँकै एक विद्यालयमा पढाउन थाले, केही वर्ष पढाए।
२०६१ सालको कुनै दिन उनी कामको सिलसिलामा काठमाडौं आएका थिए। चिनजानका आफन्तमार्फत एक जुत्ता-चप्पल कम्पनीमा बजार व्यवस्थापकको काम पाए। त्यहाँ करिब आठ वर्ष काम गरे।
त्यसरी काम गर्दा उनले जुत्ता-चप्पल उत्पादनको प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, जनशक्ति, बजार इत्यादिबारे राम्ररी थाहा पाउने अवसर पाए। बिक्रेताहरूसँग जानपहिचान भयो। ग्राहकहरूको रूचि थाहा पाए।
रूद्रले आफू कार्यरत कम्पनीकै मन मिल्ने केही साथीहरूसँग सल्लाह गरे। केही दिन आपसमा विचारविमर्श भयो। उनीहरू सहकार्यमा आफ्नै कम्पनी चलाउने निष्कर्षमा पुगे। अगुवा रूद्र नै भए।
२०६८ सालमा उनीहरूले कम्पनी दर्ता गरे। कारखाना स्थापना र अन्य सबै तयारी गरे। १५ जना कर्मचारी राखे। अनि एक वर्षभित्रै, २०६९ वैशाखदेखि रन सुज ब्रान्डमा उत्पादन सुरू भयो।
‘पहिलो महिना डेढ सय जोर जुत्ता तयार भयो। विभिन्न डिलरमार्फत काठमाडौं बाहिरका जिल्लामा पुर्यायौं,’ रूद्रले भने, ‘डिलर, शोरूम र फ्रेन्चाइज खोलेर पहिलो वर्ष नै ६० वटा जिल्लामा रन सुज पुर्याउन सफल भयौं। हाम्रो उद्देश्य दूरदराजसम्म पुर्याउनु नै थियो।’
यसपछि कम्पनीले महिला र बालबालिकालाई पनि प्राथमिकतामा राखेर जुत्ता-चप्पल बनाउन थाल्यो। दोस्रो वर्षदेखि छालाको जुत्तासँगै ‘स्पोर्ट्स’ र ‘कन्भर्स’ मोडल थप्यो। साथमा सेना र प्रहरीको व्यावसायिक जुत्ताका डिजाइन पनि तयार पारेर काम सुरू भयो।
‘बजारमा जे अभाव थियो, त्यसलाई रन सुजले पूरा गर्ने गरी हामी लागिपर्यौं,’ उनले भने, ‘यसै कारण होला, छोटो समयमै रन सुज धेरैको रोजाइमा पर्यो।’
गुणस्तरमा कुनै पनि कमी हुन नदिने उनी दाबी गर्छन्।
रन सुजका दुइटा कारखाना छन्, कागेश्वरी मनोहरा नगरपालिकाको बोडे र मूलपानीमा। एउटा कोरोनापछि मात्र थपिएको हो। एउटामा स्पोर्ट्स जुत्ता बन्छ भने अर्कोमा सबैखाले बन्छ।