दमैली । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरुद्धमा तनहुँ सदरमुकाम दमौलीमा व्यापक विरोध भएको छ । शिक्षकहरूले विधेयकको प्रतिलिपि जलाउँदै उग्र विरोध प्रदर्शन गरेका छन् । तनहुँको मुख्य बजार क्षेत्रमा शुक्रवार साँझ राँके जुलुस सहित विरोध प्रदर्शन भएको छ ।
आन्दोलनमा उत्रिएका शिक्षकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० प्रति गहिरो चिन्ता व्यक्त गर्दै यसलाई पूर्ण रूपमा फिर्ता लिन माग गरेका छन् । यो ऐन पारित भएमा नेपालको शिक्षा प्रणालीमा दूरगामी परिणाम हुने उनीहरूले चेतावनी दिएका छन् ।
आन्दोलनको क्रममा शिक्षामा राजनीतिक हस्तक्षेप भएको भन्दै दुःख व्यक्त गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्ण जिम्मेवारी राज्यले बाह्य हस्तक्षेपविना निर्वाह गर्नुपर्नेमा शिक्षकहरू माग छ । हालै सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयककाे भावना देशभरका शिक्षकहरूकाे खिलापमा रहेकाे उनीहरूले बताएका छन् ।
नेपाल शिक्षक महासङ्घले आयोजना गरेको विरोध प्रदर्शनमा शिक्षकहरूको उल्लेखनीय सहभागिता देखियो थियो । नेपाल शिक्षक सङ्घ, तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले यस आलोचनात्मक आन्दोलनमा देशका कुना–कुनाका शिक्षकहरूलाई एकजुट हुन आग्रह गर्दै मन्तव्य राखे ।
उनले भने, ‘हाम्रो शिक्षा प्रणालीको आधारशिलालाई खतरामा पार्ने विद्यालय शिक्षा ऐन २०८० विरुद्ध आज हामी एकजुट छौँ । हाम्रा शिक्षक तथा विद्यार्थीहरूको भविष्यका लागि यो लडाइँमा हामी सबै नेपाली शिक्षकहरूलाई साथ दिन आह्वान गर्दछौँ’ अध्यक्ष भट्टराईले भने ।