प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विरोधमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सबै सार्वजनिक विद्यालय ठप्प पार्ने घोषणा भएको छ । शनिवार माछापुच्छ्रे गाउँपालिकाको शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल शिक्षक महासङ्घ केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय समितिको बैठकले काठमाडौँ केन्द्रित आन्दोलनका लागि सबै सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षक आन्दोलन परिचालन समिति माछापुच्छ्रे गाउँपालिका संयाेजक विदुर चन्द्र ढकालले सबै विद्यालय ठप्प पारिने बताए । साथै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट आयोजना हुने शैक्षिक कार्यक्रम बहिस्कार गरिने उल्लेख गरे ।
ढकालले असोज २ गते कास्कीका सम्पूर्ण शिक्षकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनका लागि बसको व्यवस्था गरिएको बताए । उनले भने, ‘शिक्षक साथीहरूलाई काठमाडौँ जान रात्रि बसको व्यवस्थापन गरिएको छ । सम्पूर्ण विद्यालय अनिश्चित कालका लागि बन्द गरी सम्पूर्ण शिक्षक सतीहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछु ।’