जिल्ला अस्पताल बझाङमा कार्यरत स्त्रीरोग विशेषज्ञ चिकित्सक डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ । मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो । १५ महिना अघि डा. जोशीलाई बझाङ पठाइएको थियो । उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ । एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन् । यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन् ।
नेपाल एङ्गलसँगको संवादमा डा. जोशीले बझाङमा बसेर काम गर्ने चाहाना रहेको बताए । बझाङमा जटिल खालको प्रसूति गराउने विशेषज्ञको अभाव रहेको उनले बताए । उनले भने, ‘दुर्गममा बसेर सेवा दिने चाहाना थियो । कसैको के कुरामा चित्त बुझिएन होला तर यहाँका जनताले स्तरीय स्वास्थ्य सेवा पाइरहेको कुरा कसैले देखेनन् । मेरो काज फिर्ता भएको छ ।’
गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो ।