यति बेला बझाङ भूकम्पको चपेटामा छ । असोज १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएका थिए । बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि पनि परकम्पहरू गइरहेका छन् ।
असोज १६ यता दिनहुँ पराकम्पहरू आइरहेका छन् । बझाङवासी अझै ढुक्कसँग घरभित्र बस्न सक्ने अवस्थामा छैनन् । कतिपय घर विहीन भएका छन्, अधिकांशका घर चर्किएका छन् । बझाङवासीलाई यति बेला सहयोगको खाँचो छ ।
यसैबिच बझाङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष दानबहादुर सुर्मेलीकाे पहलमा सङ्कलन भएकाे राहत हस्तान्तरण गरिएकाे छ । विभिन्न दातृ निकायसँग समन्वय गरी सुर्मेलीले करिब १० लाख बराबरको राहत सामग्री सङ्कलन गरी हस्तान्तरण गरेका थिए ।
सुर्मेलीले नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य सङ्घ, कन्चपुर उद्योग वाणिज्य सङ्घ, डाेटी उद्योग वाणिज्य सङ्घ र बझाङ उद्योग वाणिज्य सङ्घसँगकाे तर्फबाट भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेका हुन् । अद्यक्ष सुर्मेलीले बझाङका १२ वटै स्थानीय तहलाई आज राहत सामाग्री हस्तान्तरण गरेका थिए । भूकम्प पीडितका लागि आवश्यक त्रिपाल, खाद्यान्नलगायतका अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष सुर्मेलीले बताए ।
बझाङ उद्योग वाणिज्य सङ्घले कोभिडकालदेखिनै राहत वितरण गर्दै आएको छ । बझाङलाई गाह्रो साह्रो पर्दा उद्योग वाणिज्य सङ्घ स्वतःस्फूर्त रूपमा सहयोगका हात फैलाउँदै आएको छ ।