जिल्लामा भइरहेको पेट्रोलमय पदार्थको अवैध कारोबार रोक्न व्यापारीलाई निर्देशन दिइएको छ । अवैध पेट्रोलियम पदार्थ कारोबारी विरुद्ध बझाङ उद्योग वाणिज्य सङ्घ उत्रिएको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले सोमबार एक सूचना जारी गर्दै अवैध पेट्रोलियम पदार्थको कारोबार तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
‘बझाङ जिल्लामा पेट्रोलियम पदार्थ अहिलेसम्म वित्रीवितरण भइरहेको हुँदा हाल बझाङ जिल्ला अन्तर्गत आयल निगमबाट विक्री वितरणको स्वीकृत अनुमतीपत्र लिएका व्यवसायीहरूले मात्र पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न’ सूचनामा भनिएको छ ।
जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबार बढे सँगै जोखिम पनि मौलायो भन्ने जनगुनासो पछि हामीले तत्काल अवैध कारोबार बन्द गर्न भनेका हौँ, बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुर्मेदलीले बताए । उनेले भने, ‘नेपाल आयल निगमबाट अनुमति लिएर जिल्लामा दुई आयल स्टोर सञ्चालनमा आएका छन् । यो भन्दा अगाडी बिना अनुमति जताततै अत्यन्त प्रज्वलनशिल पर्दाको कारोबार गरिरहेका थिए । अव बन्द गर्न निर्देशन दिएका छौँ।’
यस अघि जिल्लाको सदरमुकाम चैनपुर सहित जिल्लाका विभिन्न बजारहरूमा पेट्रोलियम पदार्थको अवैध कारोबार गरिरहेका थिए । पेट्रोलियम पदार्थको कारोबारका लागि आयल निगमबाट अनुमति लिनुपर्ने हुन्छ । बझाङमा भने पेट्रोलियम पदार्थको खुलेआम विक्रिवितरण हुँदै आएको छ । जिल्लाभर सयौँ व्यापारीले अत्यन्त प्रज्वलनशील पदार्थको खुला व्यापार गर्दै जोखिमलाई चुनौती दिइरहेका छन् । साथै आम नागरिकको ढाड सेक्ने गरी तोकिएको भन्दा बढी शुल्क असुल्ने गरेका छन् । यसरी खुला रूपमा पेट्रोलियम पदार्थ विक्रिवितरण गर्नमा सर्वसाधारण मात्रै छैनन् । जनप्रतिनिधि, शिक्षक, राजनीतिक दलका नेता तथा ठुला व्यापारी समेत छन् ।
अवैध कारोबारीले तोकिएको शुल्कभन्दा बढी असुलेर पनि बिक्री वितरण गरिरहेका छन् । हाल डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ । बझाङमा भने २०० रुपैयाँ प्रतिलिटर असुली गरिन्छ । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरूले उपभोग गरिरहेका छन् । पेट्रोलियम पदार्थको मंहगोमा किन्न परेपछि यातायात व्यवसायीले गाडी भाडासमेत बढाउने गरेका छन् ।
बझाङ सदरमुकाम चैनपुरमा अहिले पारस आयल स्टोरले पेट्रोलियम पदार्थ विक्रिवितरणका लागि इजाजत प्राप्त गरेको छ । नेपाल आयल निगम प्रदेश कार्यालय धनगढीबाट पारस आयलले हालै प्याक्ड वितरणका लागि अनुमति लिएको छ । जिल्लाभरका यातायातका साधनलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पु¥याउन सक्ने सञ्चालक चक्र बोहरा बताउँछन् । आयल निगमले तोकेको शुल्कमै पेट्रोलियम पदार्थ उपलब्ध गराउन आफू तयार रहेको बोहराको दाबी छ ।
यता प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बजार अनुगमन गर्दै पेट्रोलियम पदार्थको कारोबार रोक्नका लागी उद्योग वाणिज्य सङ्घलाई पत्र काट्न आग्रह गरेको बताए ।