गुर्धामीको पहलमा भूकम्प पीडितलाई अमेरिकाबाट आर्थिक सहयोग

बझाङको बुङ्गल नगरपालिका–६ घर भई अमेरिका बस्दै आएका प्रताप गुर्धामीको पहलमा बझाङका भूकम्प प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको छ । अमेरिका स्थित सुदूरपश्चिम नेपाली समाज संस्थाबाट भूकम्पले प्रभावित परिवारलाई १ लाख २७ हजार सहयोग गरिएको हो ।

उक्त रकम सुदूरपश्चिम नेपाली समाज संस्था मार्फत नेपाल रेडक्रस सोसाइटी बझाङ जिल्ला शाखामा पठाएको गुर्धामी  बताएका छन् । उनले भने, ‘प्राकृतिक प्रकोपमा परेकाहरूलाई सान्त्वना निम्ति अमेरिकामा आवश्यक पहल गरी रकम सङ्कलन गरेर नेपाल रेडक्रस सोसाइटी बझाङलाई हस्तान्तरण गरेका छौँ । रेडक्रस सोसाइटी बझाङले उक्त राहत रकम भूकम्प पीडितलाई वितरण गर्ने छ ।’ टाढा बसेर गृह जिल्लाका पीडित, त्रसित नागरिकलाई साथ सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

विशेष परिस्थितिको घडीमा अमेरिकामा रकम सङ्कलन गर्न र विकाशिल देश नेपालको बझाङका भूकम्प पीडित परिवारहरूमा सहयोग पुर्याउन ठुलो भूमिका गरेकोमा नेपाल रेडक्रस सोसाइटीले गुर्धामीलाई धन्यवाद व्यक्त गरेको छ । प्रत्यक्ष लाभान्वित परिवारहरूको वितरण कार्यक्रमको प्रतिवेदन सहित भर्पाई चाँडै पठाउने जानकारी गराएको छ ।

प्रताप धुर्गामी हाल अमेरिका बस्दै आएका छन् । उनी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

Loading...