छबिसपाथिभेराको मुकाम नजिकै खानेपानीको हाहाकार

छबिस पाथिभेरा गाउँपालिका-३ कुम्डाका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । झन्डै तीन दर्जन घरधुरी भएको कुम्डा बस्तीका नागरिकले वर्षौँदेखि  खानेपानीको चरम समस्या झेलिरहेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको भएता पनि कुम्डाका नागरिकलाई स्वास्थ्य त परैको कुरा हो खानेपानीको समेत हाहाकार छ ।

पाइपबाट मात्रै सानो पानी आउने गरेका कारण कुम्डा गाउँबाट  एक घण्टाको दुरीमा रहेको  ५ नम्बरमा पर्ने थलारा पचाडाबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौँदेखि झेल्नु परेको  स्थानीय  सचिन बोहराले दुखेसो पोखे ।

उनले भने – ‘हाम्रो ठाउँमा अहिलेसम्म कुनै पनि सरोकारवाला पक्ष पुग्न सकेको छैन । पानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना र सोच कसैको नहुँदा बर्सेनि खानेपानीको समस्या विकराल बन्दै गएको छ ।’

सुख्खा ग्रस्त क्षेत्रकारुपमा रहेको कुम्डामा बर्षौंदेखी  पिउने पानीको चरम अभाव चुलिएको अर्का स्थानीय झलक बोहराले बताए । बाह्रै महिना खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने र खानेपानी बोक्दैमा दिन बित्ने गरेको उनको भनाइ छ ।

नागरिकको मत लिएर गएका जनप्रतिनिधि दोस्रो पटक गाउँमा नपुगेपछि  स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।

कुम्डा बस्ती भन्दा माथि पानीको मुहान नहुँदा यहाँका नागरिकलाई खानेपानीको समस्या भएको वडाध्यक्ष श्यामबहादुर सिंहले बताए । उनले भने, “यो वर्ष प्रशासनिक खर्च बाहेक वडामा रकम आएन, सबै सडकमा हालेका छौँ ।”

स्थानीयवासीको खानेपानी समस्यालाई लक्षित गरी उक्त गाउँमा आगामी वर्ष खानेपानी आयोजना निर्माणको काम सुरु गरिने अध्यक्ष सिंहले बताए ।

Loading...