छबिसपाथिभेरा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सेवा क्षेत्रभित्र अनुगमनमा निस्किएका छन् । सरकारी कार्यालय, विकास निर्माणका योजना अनुगमन तथा जनसमुदायसँग अन्तरक्रिया गर्न अध्यक्ष चलाउनेको टिम नै निस्किएको हो । शुक्रवार गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउनेको नेतृत्वको टोलीले वडा नम्बर १ मा रहेको मटेला स्वास्थ्य चौकीको अनुगमन गरिएको हो । स्वास्थ्य चौकीको ओपिडी, प्रसूति कक्ष, ल्याब, स्वास्थ्यकर्मीको हाजिरी हेरिएको थियो ।
यस्तै वडा नं. १ को कार्यालयको पनि अनुगमन गरिएको छ । वडाका कर्मचारीको हाजिरी, २०८०/८१ को चलानी फायल, दर्ता रजिस्टर, राजस्व सङ्कलन गरिएको रसिद लगायत अनुगमन गरिएको हो । कार्यकारी गगन ऐडिले कार्यालयमा दैनिक गरिने हाजिरलाई व्यवस्थित गर्न सुझाव दिएका थिए । कार्य सम्पादनमा लापरबाही नगर्न, नागरिकमा सहजरुपमा सेवा दिन, नियम विपरीत कार्यहरू नगर्न ऐडीले सुझाव दिएका थिए ।
कुनै पनि कर्मचारीको लापरबाही बारे आफूलाई तत्काल जानकारी गराउन अनुरोध समेत गरेका छन् । हामीलाई जानकारी भएसम्म लापरबाही गर्ने कर्मचारी माथि कानुनी कारबाही गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडिले बताए ।
यस्तै मटेला स्थित २ करोड लागतमा निर्माण भइरहेको जनप्रिय माध्यमिक विद्यालय भवनको पनि अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष वसन्त चलाउनेको नेतृत्वमा उपाध्यक्ष नछिमल बोहरा, कार्यकारी गगन ऐडि, वडाध्यक्ष करनजंग सिंह, कार्यपालिका सदस्य, गाउँपालिका प्राविधिक रमेश बोहरा लगायत सञ्चारकर्मीको संयुक्त अनुगमन टोली खटेको थियो ।
वडा नम्बर १ को सेती नदी स्थित ४ सय ६५ घन मिटर, १ सय ६८ घन मिटर आरसिसी भएको नवादेव कन्स्ट्रक्सन का सञ्चालक हंस दौल्ल्याले जिम्मा पाएको थियो । उक्त योजनामा ३ करोड बढीको काम भएको गाउँपालिका अध्यक्ष चलाउनेले बताए । योजना दिगो, बलियो र मजबुत हुने अपेक्षित छ अध्यक्ष चलाउनेले भने । अझै पारदर्शी ढङ्गले निर्माण गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका छन् ।