दृढ सङ्कल्प र उद्यमशील भावनाको प्रदर्शन गर्दै सुर्खेतका प्रेम चित्रकार बझाङमा कर्म गर्दै छन् । फस्टाउँदै गएको सिलाई व्यवसाय मार्फत बझाङ जिल्लामा आफ्नो ख्याति बढाउँदै गएका छन् प्रेम ।
सुर्खेतको भेरिगंगा नगरपालिका-११ स्थायी ठेगाना भएका प्रेम चित्रकार ४० वर्षका भए । चित्रकारले २०७१ साल देखि बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा सिलाई कटाई व्यवसाय गरिरहेका छन् । उनले यो भन्दा अगाडी ५ वर्ष दाङको तुलसीपुरमा बिताए ।
प्रेमले विगत २० बर्सदेखि सिलाई कटाइलाई मुख्य आर्जनको माध्यम बनाइरहेका छन् । आर्थिक उपार्जनको सजिलो उपाय सिलाइ कटाइ बनाएका उनले केही व्यक्तिलाई रोजगारी समेत दिएका छन् । साथै, मनग्य आम्दानी गर्दै छन् ।
सिलाई कटाई व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण चित्रकारको लगन, मिहिनेत र अथक प्रयासले प्रस्ट पारेको छ । अहिले उनको टेलरिङ्ग सेन्टरमा २ दर्जन बढीले रोजगारी पाएका छन् ।
बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा नेपालगन्ज टेलरिङ्ग सेन्टर छ प्रेम चित्रकारको । जिल्लाकै ठुलो, विश्वासिलो र भरपर्दो एक मात्रै टेलरिङ्ग सेन्टर हो नेपालगन्ज टेलरिङ । साथै उनले सुर्मादेवी गार्मेन्ट उद्योग पनि सञ्चालनमा ल्याएका छन् । जिल्लाभरका सामुदायिक विद्यालयका ट्र्याक सुट, खेलाडीको ड्रेस लगायत छपाइ गरिरहेका छन् ।
उनको व्यवसायमा हाल २० वटा लुगा सिलाउने मेशिन छन् । अहिले आफ्नो पेसा सिलाई(कटाई सीप प्रति निकै सन्तुष्ट रहेको प्रेमले बताए । आफ्नो व्यवसाय सँगसँगै दुई दर्जन भन्दा बढीलाई रोजगारी दिएका छन् । भन्छन्, ‘अझ व्यवसायलाई निरन्तरता दिँदै थप दाजुभाइलाई रोजगारी दिने लक्ष्य लिएको छु ।’
कोट, पाइन्ट, सर्ट, दौरा सुरुवाल, जुहारी कोट, सफारी सुट सिलाइ गरिरहेका छन् । साथै सुर्मादेवी गार्मेन्ट उद्योगमा स्कुल ड्रेस, खेलकुद ड्रेस, सुरक्षाको ट्र्याक सुट लगायत छपाइ गरिन्छ ।