मुगुमा रुघा खोकीका कारण तिन जनाको मृत्यु

पदम रावल, मुगु
मुगुमा रुघा खोकीका कारण तीन जनाको ज्यान गएको छ । जिल्लाको सोरु गाउँपालिकाकाको पुरुमुरु, जिमा र बन्जहाँ गाउँमा मौसमी रुघा खोकीको प्रकोप फैलिँदा तीनको मृत्यु भएको छ । १ सय ५० जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा पुरुमुरु गाउँ निवासी वर्ष ७२ का हरि बहादुर साही, ७५ वर्षीय कृति छत्याल र २४ वर्षीय कुशम ढोली रहेको प्रहरीले जनाएको छ ।
एक साता अघि देखि त्यस क्षेत्रमा फैलिएको रुघाखोकीले स्थानीय बासिन्दा चिन्तित छन् । नजिकैको स्वास्थ्य उपचार केन्द्रमा उपचार सम्भव नभएपछि जिल्ला अस्पतालका डा. कमल ढुगांना नेतृत्वमा एक टोली ग्रस्त क्षेत्रमा पुगेको थियो । चेक जाँच गर्दा उनीहरूमा ५ वटा लक्षण देखा परेको डाक्टर ढंगानाले बताए । ज्वरो आउने, चिसो लाग्ने, हात खुट्टा, टाउको, छाती दुख्ने र सुख्खा खोकी लाग्ने जस्ता लक्षण देखा परेको डाक्टर ढुङ्गानाले उल्लेख गरे ।
मृतक कुशम ढोलीका ससुराका अनुसार बुहारी सङ्क्रमित भएपछि नजिकै मेडिकलमा उपचार गर्न लगिएको थियो । त्यहाँ पनि सन्चो नभएपछि जिल्ला अस्पताल लैजाने क्रममा बुहारीको बाटैमा मृत्यु भएको बताए ।
नजिकैको स्थानीय सरकार र अन्य निकायले कुनै पनि चासो नराखेको स्थानीयहरूको भनाई रहेको छ । उपचारको लागि बिरामीलाई जिल्ला अस्पताल लैजान झन्डै ४ घण्टा लाग्ने र साना निजी सवारी साधनमा आउजाउ गर्दा महँगो गाडी भाडा लाग्ने भएकाले हुने  घरपरिवार बाहेक गरिब घरपरिवार लाई कठिनाइ भएको छ ।
‘गरिबिको कारण एउटा सिटामोलसम्म किन्न सकेका छैनौ । घरको जडीबुटीले सन्चो भए भयो नत्र मृत्यु बाहेक कुनै अन्य उपाय छैन’ एक स्थानीयले दुःख पोख्दै भने,  ‘थोरै पैसा ऋण सापट गरी मुगु जिल्ला अस्पताल पुगेरपनी त्यहाँ ल्याब टेस्टको रिपोर्टको लागि नेपालगजंबाट आउन्जेल सम्म केही समय सदरमुकाममा बस्नु पर्ने बाध्यता छ । कसरी बस्नु?’ उनले प्रश्न गरे ।
Loading...