सरकारले फागुन १३ अर्थात् भोलि गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गर्दै छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाद्वारा देशभरका खोप केन्द्रमा आइतबार एकैसाथ दादुरा रुबेला खोप लगाइँदै छ ।
खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ । दादुरा रुबेला खोप अभियानको तयारी बझाङमा पनि पुरा भएको छ । १२ वटै स्थानीय तहका स्वास्थ्य खोप केन्द्रबाट एकै साथ खोप लगाउन सबै तयारी पुरा भएको स्वास्थ्य कार्यालय बझाङ प्रमुख तथा जनस्वास्थ्य निरिक्षक लालहादुर धामीले जानकारी दिए । ‘जिल्लाभरका ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । हाम्रो तयारी सबै पुरा भएको छ । खोप केन्द्रमा आवश्यक खोप र स्वास्थ्यकर्मी पुगिसेका छन् ।’ स्वास्थ्य प्रमुख धामीले भने ।
जिल्लाको ठुलो नगरको रूपमा रहेको बुंगल नगरपालिकाको सबै स्वास्थ्य केन्द्रमा खोप लगाउन आवश्यक तयारी पुरा भएको जनस्वास्थ्य अधिकृत नरेश कुँवरले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै खोप केन्द्रमा पूर्ण तयारी भएको छ । रेडियो, पत्रपत्रिका तथा स्थानीय रुटमा चल्ने जीवहरूमा माइकिङ गरेर लक्षित वर्गलाई खोप लगाउन जानकारी दिइएको अधिकृत कुँवरले बताए ।
जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा पनि खोप अभियानको तयारी चुस्त रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक अमरराज थापाले बताए । सबै खोप केन्द्रमा जनशक्ति र खोप पुगिसेको संयोजक थापाको भनाई छ ।
दुर्गाथली गाउँपालिकामा पनि दादुरा रुवेला खोप सञ्चालन गर्न सबै तयारी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बमबहादुर भण्डारीले जानकारी दिए । ‘गाउँपालिकाको टिम सबै तयारीका साथ यो राष्ट्रिय अभियानमा सहभागी हुँदै छ । हाम्रो तयारी पुरा भएको छ’ संयोजक भण्डारीले भने ।
जिल्लाको सबैभन्दा पूर्वी भागमा रहेको वित्थडचिर गाउँपालिकामा पनि खोप अभियानको सम्पूर्ण तयारी सकिएको स्वास्थ्य संयोजक गौरीलाल बोहराले बताए । दादुरा रोग मिजल्स भाइरसबाट हुने अति छिटो सर्ने सङ्क्रामक रोग भएकाले आफ्ना नानी बाबुहरूलाई खोप केन्द्रमा गई खोप लगाउन संयोजक बोहराले अनुरोध गरे । ‘रुबेला रोग रुबेला भाइरसबाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग हो । यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ । त्यसैले खोप अभियानमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।’ उनले भने ।
जिल्ला सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकामा पनि खोप अभियानको सम्पूर्ण तयारी सकिएको जनस्वास्थ्य अधिकृत नयनबहादुर सिंहले जानकारी दिए । नगरक्षेत्रभित्रका सबै स्वास्थ्य चौकी तथा खोप केन्द्रमा पूर्ण तयारी गरेको सिंहले उल्लेख गरे । अभियानमा सम्बन्धित सबैले सहभागी हुन अधिकृत सिंहले अनुरोध गरे । उनले भने, ‘दादुरा सङ्क्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्युसमेत गराउन सक्छ । रुबेला रोगको असरहरू दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला सङ्क्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्छन् । बाल मृत्युको कारणमध्ये दादुरा एक प्रमुख कारण हो । तसर्थ, यो अभियानमा सबैले भाग लिऔँ ।’
खप्तडछान्ना गाउँपालिकामा पनि आवश्यक तयारी पुरा भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र रोकायाले जानकारी दिएका छन् । त्यस्तै मस्टा गाउँपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिकामा पनि खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको त्यहाँका स्वास्थ्य संयोजकहरूको भनाई छ । गाउँपालिकाका सबै स्वास्थ्य चौकी र खोप केन्द्रमा जनशक्ति परिचालन गरिएको मस्टा गाउँपालिकाका स्वास्थ्य संयोजक देवीचन्द्र थापाले बताए ।
शनिबार पत्रकार सम्मेलनमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बझाङ प्रमुख तथा जनस्वास्थ्य निरिक्षक लालबहादुर धामीलेले दादुरा, रुबेला क्याम्पियन अभियानको रूपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए । खोप अभियानमा सहभागी हुन सबै जिल्लावासीलाई डाक्टर धामीले अनुरोध गरे । अभियानको अवधिमा कुनै कारणले खोप लगाउन नसकिएको खण्डमा पनि नजिकैको स्वास्थ्य चौकीमा गएर लाभान्वित वर्गले खोप लगाउन सक्ने उनले जानकारी दिएका थिए ।