बझाङमा कांग्रेसले अमृत सिंहका हत्यारा बिर्सिएको हो?

१३ माघ २०७७ बझाङको छविसपाथिभेरा ३ मा एक तरुण दलका यूवामाथि खुँडा प्रहार भयाे । वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको  निर्वाचन सकेर घर फर्कने क्रममा तरुण दलका हाेनहार यूवा अमृतबहादुर सिंहमाथि खुँडा प्रहार गरिएकाे थियाे । २७ वर्षीय सिंहको खुँडा प्रहारबाट घटनास्थलमै ज्यान गएको थियो । 

नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले हत्या गरेको आरोप थियो । हत्यारालाई तत्कालीन नेकपा सरकारले संरक्षण गर्न लागेको भन्दै सिंहलाई न्याय दिलाउन नेपाली काँग्रेस र उसका भातृ सङ्गठनले देशभर विरोध प्रर्दशन गरेका थिए । 

सदरमुकाम चैनपुर तनावग्रस्त बनेको थियो । धनगढी, काठमाडौँमा विरोध प्रर्दशन भएका थिए । राज्य नै अपराधीको संरक्षण गर्न खोजेको नेपाली कांग्रेसको आरोप थियो । 

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पनि सिंह हत्याकाे विराेध गरेका थिए । कांग्रेस नेता गगन थापाले तरुण दलका कार्यकर्ता अमृत सिंहको हत्यारालाई कानुनी कठघरामा ल्याउन हदैसम्म लागिपर्ने उद्घोष गरेका थिए । सामाजिक सञ्जालमार्फत थापाले प्रतिबद्धता व्यक्त गर्दै लेखेका थिए, ‘वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा भएको हो । सरकारद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्ने छौँ । मृतक अमृत सिंहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

वडाध्यक्षकै माेटरसाइकल प्रयाेग भएकाे भन्दै सरकारद्धारा हत्यारा संरक्षित भएकाे आरोप लगाएका  थिए । तर, थापाले हत्यारा करार गरेका तत्कालीन वडाध्यक्ष विकास ऐडीले भने एक वर्षको हिरासत बसाइपछि सफाइ पाए । तीनै ऐडी अहिले तत्कालीन नेकपा बझाङका नेता तथा हाल एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार भानुभक्त जोशीलाई भोट माग्न गाउँगाउँ पुगिरहेका छन् । ऐडी विगतदेखि नै उम्मेदवार जोशीको विश्वास पात्र हुन् । 

नेपाली काँग्रेस छविसपाथिभेरा गाउँपालिका सभापति पाण्डव थापाले एक टेलिभिजन कार्यक्रममा अमृत सिंहको हत्या गर्ने व्यक्तिलाई उम्मेदवार जोशीले संरक्षण गरेको बताएका थिए । प्रसङ्गमा बोल्दै, ‘त्यसको संरक्षणकर्ता उहाँ (जोशी) होइन भने त्यसकोविरुद्धमा त्यो स्तरको नेताले विज्ञप्ति निकाले खै?’ थापाले प्रश्न गरेका थिए । 

सभापति थापा अझै खुलेर जोशीलाई भोट माग्न गएका देखिदैनन् । सामाजिक सञ्जालमा नियमित गतिविधि पोस्ट गरिराख्ने थापाले यस पटक भने मौनता देखाएका छन् । नेपाली कांग्रेसका केही ठूला नेताहरूले चुनावी सक्रियता देखिएपनि कार्यकर्तामाझ भने सिंह हत्याको भयानक दृश्य ताजै छ ।

दुई वर्ष अघि एक होनहार कार्यकर्तामाथि खुँडा प्रहार हुँदा नेपाली कांग्रेसले सडक र सदन दुबै तताएको थियो । तर, अहिले बझाङका केही काँग्रेसी नेताहरु भने ती दिवंगत कार्यकर्ता (सिंह) को  नाम लिन समेत चाहाँदैन । हालै बझाङको एक चुनावी सभामा नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाश रसाइली स्नेहीले नेविसंघका नेतामाथि कुनै समय त्रिचन्द्र क्याम्पसमा गोली हानेको स्मरण गरे ।

एमाले उम्मेदवार ऐन महरलक्षित अभिव्यक्ति दिँदै स्नेही भन्छन्, ‘आज भानुभक्त जोशीको विरुद्ध उम्मेदवार हुन आएको व्यक्ति को हो? म धेरै कांग्रेसका युवाहरुलाई भन्न चाहान्छु । त्रिचन्द्र क्याम्पसमा नेविसंघका नेतामाथि गोली हान्ने को हो? त्यो गोली हान्दै गर्दा भानुभक्त जोशीले कांग्रेसको छोराले कांग्रेसका छोरालाई गोली हान्न लगायौँ भनेर धाप मार्नु भयो होला । अब कांग्रेसका युवाहरुले कलममा भोट हालेर त्रिचन्द्रमा बगेको रातो रगतलाई हरियो रङले छोपेर शान्तीको प्रतिक दिनु पर्छ ।’ 

रसाइलीको यही अभिव्यक्तिलाई धेरै नेपाली कांग्रेसका कार्यकर्ताले आपत्ति जनाएका छन् । रसाइलीले त्रीचन्द्र क्याम्पसमा नेबिसंघका कार्यकर्तामाथी गोलि हान्ने को हुन् भन्दै गर्दा छबिस पाथिभेरामा तरुण दलका अमृत सिंहमाथी खुडा हान्ने को हुन्? त्यो बिर्सिन नहुने उनीहरुको तर्क छ ।

तरुण दलका नेता नृपासिंह कडायतले स्नेहीको अभिव्यक्ति लक्षित असन्तुष्टि सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । एउटा विषयमा प्रतिक्रिया दिँदै कडायतले लेखेका छन्, ‘प्रकाश रसाइली मेरो पार्टीको र मेरो नेता हो । तर, उहाँको अभिव्यक्तिप्रति मेरो साह्रै आपत्ति छ । अस्ती भन्नु भयो रे कलममा भोट नहाल्नेले कांग्रेस छोडे हुन्छ । होइन, कांग्रेस पार्टी प्रकाश रसाइलीको ब्यतिगत सम्पती हो र? यस्ता अराजक अभिव्यक्ति अह्मतापुर्ण भाषण नगर्नु होला । हामी कार्यकर्ताको मनमा चोट पुग्छ । बाँकी रह्यो अमृतको कुरा । गठबंधनलाई चोट पुग्छ भनेर नउठायको होला त्रिचन्दमा गरेको गोलि कान्ड र अमृत सिंहको कान्डका पात्र ‘सिमिलर अथवा कमन’ हुन जस्तो लाग्छ । चुनाव आएको छ धेरै नबोलौ होला ।’

 

यता, अमृत सिंहका आफन्त भने परिवारका सदस्यको हत्या गर्ने दलसँगै कांग्रेसका नेताहरूले साठगाँठ गरेको देख्दा निराश भएका छन् । सिंहका आफन्त गठबन्धन होस् वा एकता भोट दिने पक्षमा छैनन् । सिहंका आफन्त राजेन्द्र सिंहले भोट नदिने बताए ।  

समाजवादीका नेता तथा गठबन्धनका उम्मेदवार जोशी नेपाली कांग्रेसको जनमतले सांसद बन्ने दौडधुपमा छन् । यद्यपी, नेपाली कांग्रेसले भोट दिन्छ भन्नेमा भने उनी ढुक्क छैनन् । जोशीकै आफन्तहरु माओवादीले घात नगर्ने तर नेपाली कांग्रेसको भर नभएको सार्वजनिक रुपमै बताउँछन् । 

 

 

Loading...