भवानी युवा क्लबद्वारा देउसी भैलोबाट सङ्कलित रकमले स्ट्रेचर खरिद

Hardware adds

बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित नौरा गाउँको भवानी युवा क्लबले देउसी भैलोबाट सङ्कलित रकमले स्ट्रेचर खरिद गरेको छ । क्लबले दसैँ र दीपावलीको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको रकमले बिरामीहरूको सहजताका लागि तीन वटा स्ट्रेचर खरिद गरेको हो । यो सामाजिक कार्यले गाउँको स्वास्थ्य सेवामा उल्लेखनीय सहयोग पुगेको छ।

भवानी युवा क्लबले हरेक वर्ष मनोरञ्जनको लागी पनि देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आएको छ । जसबाट सङ्कलन हुने रकमले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। क्लबले यस वर्ष सङ्कलन भएको रकमलाई बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म सजिलै पुर्‍याउन मद्दत पुग्ने उद्देश्यले स्ट्रेचर खरिदमा लगानी गरेको हो। धनगढीबाट १४ हजार ४ सय रुपैयाँको तिन वटा स्ट्रेचर खरिद गरेर गाउँ पठाएको छ ।

क्लबका अध्यक्ष नवराज धामीले भने, “हाम्रो गाउँमा एउटा पनि स्ट्रेचर छैन, कतिपय अवस्थामा बिरामीले समयमै उपचार नपाउँदा दुःख खेप्नुपरेको हुन्छ । त्यस कारण बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ। हामी सबैको सानो प्रयासले नै समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ ।” यस कारण हामीले देउसी भैलोको आयोजना गरेर सङ्कलित रकमले स्ट्रेचर खरिद गरेका हौँ ।

गाउँमा सडक र यातायातको सुविधा सीमित भएकाले स्ट्रेचर नै बिरामीहरूलाई समयमै स्वास्थ्य उपचारमा पुर्‍याउन उपयोगी हुने र यस किसिमको प्रयासले समाजसेवामा योगदान गर्न प्रेरणा मिल्ने स्थानीयहरूले विश्वास गरेका छन्।

Loading...