बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा- ३ कार्यालय भवन निर्माण का लागि स्थानीय देवीचन्द्र मण्डेलले ६ वर्ष अघि ८ लाख रकम लगेका थिए । छबिस पाथिभेरा गाउँपालिका-३ मा वडा कार्यालय भवन निर्माणको लागि ६ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि भवन अझै निर्माण भएको छैन ।
भवन निर्माणका लागि पुष्प निर्माण सेवाका सञ्चालक ठेकेदार देविचन्द्र मण्डेलले छबिस पाथिभेरा गाउँपालिकाबाट आर्थिक वर्ष ७६/७७ मा ८ लाख रुपैयाँ भुक्तानी लिइसकेका छन् । भुक्तानी लिएको ६ वर्ष बितिसक्दा पनि उनले भवन निर्माण कार्य अघि बढाएका छैनन् । साथै मण्डेल गाउँपालिकाको सम्पर्कमा समेत छैनन् । सो भवन निर्माण गर्नका लागि छबिसपाथिभेरा गाउँपालिकाले मण्डेललाई तिन पटक पत्र पठाइसकेको छ । तर मण्डेल सम्पर्कमा न आएको गाउँपालिका कार्यकारी गगन ऐडिले बताए ।
गाउँपालिकाले भवन निर्माणका लागि पटक पटक पत्राचार गरे पनि ठेकेदार मण्डेलले बेवास्ता गर्दै आएका छन् । वडा कार्यालयले अहिले अस्थायी रूपमा स्वास्थ्यको भवनबाट सेवा दिइरहेको छ । ठेकेदार मण्डेलले भवन निर्माण नहुनुको कारण स्थानीयले जग्गा उपलब्ध नगराएको बताएका छन्। “जग्गा उपलब्ध नहुँदा भवन निर्माण गर्न नसकिएको हो। ,” उनले भने।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडिले भने ठेकेदारको लापरबाहीले काम अवरुद्ध भएको दाबी गरेका छन् । “सम्झौता भएर भुक्तानी लिइसकेपछि जग्गाको विषयमा सामान्य विवाद सिर्जना भएको हो । अहिले जग्गा उपलब्ध गराउने कुरा ठेकेदारलाई जानकारी गराइएको थियो। तर, उनले कुनै पहल गरेनन्,” अधिकृत ऐडिले भने ।
स्थानीयको आक्रोश
स्थानीयवासीले ठेकेदार र गाउँपालिकाको कमजोरीलाई दोष दिँदै भवन निर्माण कार्यको छानबिन गरी ठेकेदारलाई कारबाही गर्न माग गरेका छन्। “छ वर्षसम्म काम नगर्ने ठेकेदारलाई भुक्तानी दिने तर जनताको समस्या समाधान नगर्ने यो कस्तो न्याय हो?” स्थानीयवासी झलक बोहराले प्रश्न गरेका छन् ।
यो प्रकरणले सरकारी काममा हुने ढिलासुस्ती र ठेकेदारको लापरबाहीप्रति गम्भीर प्रश्न खडा गरेको छ । वडा कार्यालय भवन निर्माणको लागी समपूरक बजेटबाट ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत केन्द्रको रकम रहेको थियो ।