बेताल माविमा एक दिने शिविर: १६७ विद्यार्थीको आँखा परीक्षण, २० रेफर

केदारस्युँ गाउँपालिका – १ स्थित बेताल माध्यमिक विद्यालयमा एक दिने आँखा शिविर सञ्चालन गरिएको छ। केदारस्युँ गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको आयोजनामा तथा एकीकृत विकास समाज नेपाल (आइडिएस्) को सहजीकरण मा मङ्गलवार सो शिविर सञ्चालन गरिएको हो।

शिविरमा करिब १ सय ६७ विद्यार्थीले आँखा परीक्षण गराएका थिए । तीमध्ये २० विद्यार्थीलाई थप उपचारका लागि आँखा सेन्टर केदारस्युँ देउरामा रेफर गरिएको छ । यो सँगै शिविरमा निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो । यस्तै रायल प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा विद्यार्थीहरूको आँखा, कान र दाँतको समेत स्वास्थ्य परीक्षण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विक्रम भण्डारीका अनुसार विद्यालयमै सेवा उपलब्ध हुँदा विद्यार्थीहरू निकै खुसी भएका छन् । उनले भने, “शिविरले विद्यार्थीहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ । सबै विद्यार्थीहरू लाभान्वित भएका छन् । यो शिविर निक्कै लाभदायक, फलदायी र प्रभावकारी हुने विश्वास गरिएको छ ।” विद्यार्थीहरू आफ्नो स्वास्थ्यप्रति सचेत पनि भएका छन् । जुन निकै सकारात्मक पक्ष हो, उनले भने ।

विद्यार्थीहरूको दृष्टि जाँच गरी समस्या पहिचान गर्नु र समाधानका उपायहरू दिनु भविष्य निर्माणका लागि महत्त्वपूर्ण भएको आँखा उपचार केन्द्र केदारस्युँ शाखाका प्रमुख उमा चौधरीले भनिन् । शिविरको व्यवस्थापनप्रति खुसी व्यक्त गर्दै यो कार्यक्रम विद्यार्थीहरूको भविष्यको लागि निकै लाभदायक रहेको उनले बताइन् ।

शिविरमा तल्लीन स्वास्थ्यकर्मी दुर्गा भण्डारीले  अधिकांश विद्यार्थीको आँखामा सामान्य समस्या देखिए पनि रेफर गरिएका विद्यार्थी बालबालिकाको स्वास्थ्य सुधारका लागि थप ध्यान दिनु आवश्यक रहेको बताएकी छिन् । यस शिविरको सफल सञ्चालनले सुन्दर संसार देखिरहेका विद्यार्थीहरूको स्वास्थ्य र जीवनमा थप नयाँ ऊर्जा भर्ने सकारात्मक प्रभाव परेको छ ।

Loading...