अपाङ्गता परिचयपत्र वितरण र समावेशी विकासका लागि उपाध्यक्ष धामीको सक्रियता

केदारस्युँ गाउँपालिका वडा नं. ६ मा अपाङ्ग भएका व्यक्तिको पहिचान गर्दै अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । आज केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनीषा धामी नेतृत्वको टोलीले अपाङ्ग भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो । प्रगतिशील युवा समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा वडा नम्बर – ६ का १० जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो । जसमा (क) वर्गका ३ जना, (ख) वर्गका १ जना, (ग) वर्गका ५ जना र (घ) वर्गका १ जनालाई परिचयपत्र दिइएको हो ।

यस्तै उपाध्यक्ष धामीले एकल महिलासँगको साक्षात्कारमा एकल महिलाको दुःख मर्म बुझ्दै उनीहरूलाई आत्मनिर्भर बनाउन नयाँ आयाम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले बाह्रदेउ एकल महिला समूहमा आबद्ध  महिलाहरूलाई अल्लो र भाँगाबाट लुगा बनाउने उद्योग सञ्चालन तथा तालिम दिने योजना र अर्ग्यानिक खेतीमा जोड दिन प्रेरित गरेकी  छन् ।

उनले भनिन्, “हामीले जग्गा भाडामा लिएर पनि अर्ग्यानिक खेतीमा जोड दिएर आत्मनिर्भर बन्नु सक्नुपर्छ । स्थानीय स्तरमा उत्पादन हुने गहत, मास, भटमास, लगायतका तरकारी खेती, बाख्रा पालन गर्दै आत्मनिर्भर बन्नुपर्छ । कृषि उपज ढुवानी तथा खरिद विक्रीमा पालिकाले सहयोग गर्छ ।”

यो सँगै टुहुरा, असहाय तथा विपन्न बालबालिकालाई लक्षित गर्दै उपाध्यक्ष धामीले न्यानो कपडा, स्कुल पोसाक, झोला र शैक्षिक सामग्री पनि प्रदान गरेकी हुन् । हिउँदको कठ्यांग्रीदो चिसोमा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी उनले नागरिकको दु:ख, पीडा र आवश्यकता बुझ्ने प्रयास गरिरहेकी छन् ।

जनताको वास्तविक समस्यामा यति आत्मीयता र सहयोगी भावना देखाउने नेतृत्वका लागि उहाँप्रति स्थानीयहरू हर्षित भएका छन् ।

त्यस्तै उपाध्यक्षको घरदैलो अभियान जारी रहेको छ । शनिवार वडा नं.६ मा कार्यक्रम गरिएको छ भने आइतबार ७ को भामचौर, काँडाचौर र सोमबार ८ नम्बरमा कार्यक्रम सञ्चालन गरिने बाल कल्याण अधिकारी धनराम बोहराले बताए ।

उपाध्यक्ष धामी नेतृत्वको टोलीमा जिल्ला अस्पतालका डाक्टर कमल सिंह, केदारस्युँ- ६ का वडाध्यक्ष जयबहादुर धामी, २ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक शेरबहादुर विष्ट, कार्यपालिका सदस्य कमला थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रगतिशील युवा समाजका कर्मचारी यज्ञराज जोशी, गाउँपालिका कर्मचारी समुन्द्र धामी, भाडसैन आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज दलबहादुर धामी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Loading...