केदारस्युँ गाउँपालिकाको सराहनीय कदम: अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै

केदारस्युँ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रशंसनीय प्रयास गरिरहेको छ । जनप्रतिनिधि वडा वडामा गएर अपाङ्ग व्यक्तिलाई परिचयपत्र वितरण गरी उनीहरूको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने निर्णयले समावेशी समाज निर्माणतर्फ एक महत्त्वपूर्ण कदम चालेको छ । गाउँपालिकाले प्रगतिशील युवा समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालसँग सहकार्य गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लिएको छ ।

हालसम्म केदारस्युँ गाउँपालिकाको- ६ र ७ मा १९ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको प्रकार अनुसार (क) (ख), (ग) र (घ) वर्गमा वर्गीकरण गरी परिचयपत्र वितरण गरिएको छ । जसले लक्षित वर्गलाई थप सटीक सेवा प्रदान गर्न सहयोग पुग्ने बताइएको छ ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई मात्र नभई एकल महिला र विपन्न बालबालिकालाई समेत लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै समावेशी विकासको मोडललाई अवलम्बन गरेको छ ।

केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनीषा धामी नेतृत्वको टोलीले गत शनिवार देखी पालिकाका वडामा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ । यो सँगै उपाध्यक्ष धामीले एकल महिला समूहलाई सामूहिक रूपमा हातेमालो गर्दै कृषि पेसामा आत्मनिर्भर बनाउन नयाँ आयामको सुरुवात गर्ने विभिन्न योजना बनाएकी छन् ।

उनले एकल महिला समूहलाई सामूहिक रूपमा काम गरेर अर्ग्यानिक कृषि उत्पादकत्व बढाउने बताएकी छन् । स्थानीय स्तरमा हुने गहत, भटमास, रैथाने बाली (बेथे( आलु लगायत तरकारी खेती, बाख्रा पालन प्रवर्द्धन र अल्लो, भाँगाबाट लुगा बनाउने उद्योग सञ्चालन तथा तालिम दिने योजना रहेको सुनाइन् ।

यस्तै, केदारस्युँ गाउँपालिकाको वार्षिक स्वीकृत बजेट मार्फत उपाध्यक्ष धामीले टुहुरा र विपन्न बालबालिकालाई हिउँदे कोसेली पनि वितरण गरिरहेकी छन् । जसमा असहाय बालबालिकालाई न्यानो कपडा, स्कुल पोसाक, झोला र शैक्षिक सामग्री प्रदान गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण,एकल महिला समूहसँग साक्षात्कार र विपन्न बालबालिकालाई अत्यावश्यक सामाग्री वितरण गर्ने कार्यक्रम पालिका भरी सञ्चालन हुने छ । केदारस्युँका ६, ७ र ८ को दुर्गम वडामा जनप्रतिनिधिको टोली खटेर वितरण गरिरहेको छ भने पालिकाका १ देखि ५ सम्मका वडाभित्रका अपाङ्ग बालबालिकालाई गाउँपालिकाको कार्यालयमै बोलाइएको छ ।

जनप्रतिनिधिहरूको सक्रियताले केदारस्युँ गाउँपालिकामा सामाजिक सुरक्षा, मानवता र आत्मनिर्भरता प्रवर्द्धन गर्दै समावेशी विकासको नमुना प्रस्तुत गरेको छ ।

Loading...