केदारस्युँ गाउँपालिका–८ सुकानाउलाबासिका किसानहरूले आफ्नो बारीमा उत्पादन भएको सुन्तलाले बजार नपाउँदा चिन्ता व्यक्त गरेका छन् । उत्पादन भएको सुन्तलालाई व्यवस्थित रूपमा सङ्कलन, भण्डारण र बजारसम्म पुर्याउने प्रणालीको अभाव भएको गुनासो गरेका छन् ।
स्थानीयको यस्तै गुनासोलाई मध्यनजर गर्दै गाउँपालिकाकी उपाध्यक्ष मनीषा धामीले हालै त्यहाँको सुन्तला बारीको अवलोकन गरेकी छिन् ।
बारीमा लटरम्म भरिएका सुन्तलालाई उचित बजारीकरण गर्न नसकेर किसानहरूको मेहनतले मूल्य पाउन सकेको छैन । अवलोकनका क्रममा उपाध्यक्ष धामीले स्थानीय किसानहरूसँग छलफल गर्दै सुन्तलाको बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।
धामीले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन आवश्यक नीति तथा कार्यक्रम बनाउने र किसानको आर्थिक अवस्था सुधार्न हर सम्भव सहयोग गर्ने बताएकी छिन् । यो समस्यालाई कृषि ज्ञान केन्द्रसम्म पुर्याएर थप समन्वय गर्ने धामीले बताइन् ।