अनेरास्ववियू क्रान्तिकारीको सचिवमा वझाङका जोशीको उम्मेदवारी

सुदूरपश्चिमको विकट जिल्ला बझाङमा जन्मिएका चेतराज जोशीले आफ्नो संघर्ष र लगनशीलताका बलमा चितवनको कृषि क्याम्पस कृषि विज्ञानमा स्नातक सम्मको अध्ययन गरेका छन् । क्याम्पसमा अध्ययनका क्रममा अनेरास्ववियूबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जोशीले अहिले अनेरास्ववियू क्रान्तिकारीको केन्द्रिय खुल्ला सचिव पदमा उम्मेदवारी दिएका छन् ।

चेतराजको नेतृत्वमा क्याम्पसमा च्याउ खेती, बेमौसमी तरकारी, मकै, टमाटर, र सयपत्री खेतीजस्ता व्यावहारिक र रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई सीपमूलक शिक्षा दिनुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत पुर्‍यायो ।

उम्मेदवारी दिँदै गर्दा जोशीले आफ्नो संगठनात्मक अनुभव र संघर्षलाई आधार बनाएर केही एजेन्डा अघि सारेका छन् । शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र व्यावहारिक बनाउँदै “पढ्दै कमाउँदै” अभियानलाई सशक्त बनाउने, विश्वविद्यालयमा सुसासन, पारदर्शिता, र जवाफदेहिता स्थापना गर्ने, विद्यार्थी आन्दोलनलाई निजीकरणविरुद्ध निर्णायक र प्रभावकारी बनाउँदै व्यवहारिक समाधानको पहल गर्ने एजेन्डा जोशीले सार्वजनिक गरेका छन् ।

“नेतृत्व केवल पद होइन, यो विश्वास र रूपान्तरणको आधार हो । समयानुकूल सोच र समर्पणका साथ अघि बढ्न तयार छु,” चेतराज भन्छन् । उनका अनुसार संगठनलाई अझ गतिशील, समावेशी, र सशक्त बनाउँदै विद्यार्थी वर्गका अधिकार र भविष्य सुनिश्चित गर्नु उनको मुख्य लक्ष्य हो ।

उनले थपे, “तपाईंहरूको समर्थनले मात्रै इतिहास रच्न सकिन्छ । यो मेरो संकल्प मात्र होइन, हाम्रो साझा उद्देश्य हो ।”

 

Loading...