तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल धम्पुसमा, तयारी पुरा

धम्पुस – माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नं ७ कार्यालयको व्यवस्थापन र माछापुच्छ्रे भलिबल संघको संयोजनमा गण्डकी प्रदेशस्तरीय तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ फागुन १४ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न पालिकाका टोलीहरूले सहभागिता जनाउनेछन् । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार रू दुई लाख, द्वितीय पुरस्कार रू एक लाख र सेमिफाइनलका उपविजेता दुई टिमलाई रू पचास हजार-पचास हजार प्रदान गरिनेछ । महिलातर्फ प्रथम पुरस्कार रू एक लाख, द्वितीय पुरस्कार रू पचास हजार र सेमिफाइनलका उपविजेता दुई टिमलाई रू पच्चीस हजार -पच्चीस हजार प्रदान गरिनेछ । विजेताहरूलाई नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ ।

यस्तै, उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित विशेष पोशाकले सम्मान गरिनेछ ।

माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१ र ८२ का लागि प्रतियोगिताका लागि तेह्र लाख बजेट विनियोजन गरेको जानकारी गराइएको छ । उक्त बजेट अन्तर्गत रहेर प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गरिने छ ।

यसअघि, दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा बौदीकाली गाउँपालिका नवलपुर प्रथम र गल्कोट नगरपालिका बाग्लुङ द्वितीय भएका थिए ।

यस वर्षको प्रतियोगिता वडा नं  ७, धम्पुसमा आयोजना हुनेछ । प्रतियोगितासँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

प्रतियोगितालाई सफल र भव्य बनाउन माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले सबैकाे सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका छन् ।

 

Loading...