नेपाल टेलिकमको टावर खोज्दै वडाध्यक्ष धामी

सुनिल मण्डेल बझाङ : छबिस पाथिभेरा गाउँपालिका- ७ का स्थानीय बासिन्दा वर्षौंदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । नेपाल टेलिकमको टावर उपलब्ध नभएका कारण यहाँका नागरिकहरू आधारभूत फोन सेवा र इन्टरनेट पहुँचबाट वञ्चित छन् । नेटवर्क नपाइने समस्याका कारण नागरिकहरू दैनिक जीवनमा समस्या भोगिरहेका छन् भने आपतकालीन अवस्थामा समेत सञ्चार गर्न नसकिने अवस्था छ ।

छबिस पाथिभेरा गाउँपालिका – ७ का वडाध्यक्ष विजय धामीले यस समस्याप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमा  लेखेका छन्, “ए… नेपाल टेलिकम, लेकगाउँ च्याकोटको टावर तिर ध्यान केन्द्रित गर।”

स्थानीयहरूको समस्याः
छबिस पाथिभेरा–७ का बासिन्दाहरू नेटवर्क खोज्न टाढा–टाढा पुग्नुपर्ने बाध्यतामा छन् । सामान्य फोन गर्नसमेत समस्या हुने यस क्षेत्रमा इन्टरनेट पहुँचको अवस्था अझै कमजोर छ । सञ्चार सेवाको अभावले स्थानीयहरू सूचना प्रवाह र आपतकालीन सहयोगमा पनि असहज स्थिति सामना गरिरहेका छन् ।

नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । उनले नेपाल एंगलसँग कुरा गर्दै टावरमा सोलार प्रणाली जडान गर्ने योजना भए पनि स्थानीय क्षेत्रमा विद्युत् उपलब्ध रहेको जानकारी पाएपछि सोलार जडान गर्न नसकिएको बताए । उनले भने,”डडेल्धुराको प्रमुख अहिले बाहिरी हुनुहुन्छ ।  यस कारण समस्या समाधानमा ढिलाइ भएको भए पनि अब चाँडै समाधानका उपायहरू अपनाइने छ ।”

स्थानीय बासिन्दाले छिटोभन्दा छिटो सञ्चार पूर्वाधारको विकास गरी समस्या समाधान गर्न माग गरेका छन् । वडाध्यक्ष धामीको सक्रियताले यस क्षेत्रमा सञ्चार सुविधाको विकासका लागि आशा देखिएको छ ।

Loading...