प्रसिद्ध बासुधारामा शिव मन्दिरको भव्य उद्घाटन

छबिस पाथिभेरा गाउँपालिका-७ स्थित धार्मिक तथा पर्यटकीय स्थल बासुधारामा निर्माण गरिएको शिव मन्दिरको विशेष पूजा–आजा सहित भव्य उद्घाटन गरिएको छ । आज शुक्रबार बसुधारा खजुर क्षेत्रमा निर्माण गरिएको मन्दिरको पुजाआजा सहित उद्घाटन गरिएको हो ।

बासुधारा मन्दिर निर्माण समितिको नेतृत्वमा छबिस पाथिभेरा गाउँपालिका-७ का प्रवासी नागरिकहरूले भारतको बैङ्गलोरमा बसेर आर्थिक सहयोग जुटाएर मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माणका लागि प्रवासीहरूले आर्थिक, भौतिक रुपमा सहयोग गरिएको बासुधारा मन्दिर निर्माण समितीका अध्यक्ष सुबास बोहराले जानकारी दिए  ।

अध्यक्ष बोहराका अनुसार, त्यहाँको धर्म र संस्कृतिलाई झल्काउने शिवलिङ्ग, घण्टी, शंख, गौमुखी, मूर्ति लगायतका सामग्री खरिद गरिसकिएको छ । ती सामग्री चाँडै बासुधारा पुर्‍याइने उनले बताए । उनले भने, “बासुधारा क्षेत्र धार्मिक र प्राकृतिक हिसाबले सम्भावना बोकेको पवित्र स्थल हो । यसको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो सबैको कर्तव्य हो ।”

बासुधाराको शिव मन्दिर निर्माणमा प्रवासीहरूको सहकार्य, समर्थन र आर्थिक सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ । मन्दिर निर्माण अभियानमा छबिस–७ का स्थानीय बासिन्दाहरूले पनि ठूलो सहयोग पुर्‍याएका छन् ।

शिव मन्दिरको उद्घाटनपछि बासुधारा क्षेत्र धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्ने आशा गरिएको छ । अध्यक्ष बोहराले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

धार्मिक र प्राकृतिक सौन्दर्यले भरिएको बासुधारामा शिवालय मन्दिरले धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने बोहरा बताउँछन् ।

Loading...