इजरायल: केयरगिभरले अनिवार्य भर्नुपर्ने (FEMIS) केहो? कहिले भर्ने?

काठमाडौं – वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली लागू गरेको छ । अब व्यक्तिगत श्रम स्वीकृति लिने तथा पुनः प्रवेश (रि-इन्ट्री) गर्ने कामदारहरूले आवेदन अनलाइनमार्फत बुझाउन सक्छन् ।

विभागका अनुसार अनलाइन प्रणाली आवेदन दिन सक्नेछन् । सबै प्रक्रिया पूरा भएपछि मात्र श्रम स्वीकृतिको स्टिकर लिन पासपोर्ट लिएर विभागमा जानुपर्ने व्यवस्था गरिएको छ ।

‘एफईआईएमएस’ प्रणालीमार्फत श्रम स्वीकृति प्रक्रिया

विभागले ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एफईआईएमएस) नामक प्रणाली सुरु गरेको छ । यसको पहिलो चरणमा व्यक्तिगत पहलमा विदेश जान लागेका तथा श्रम इजाजत नवीकरण गर्न चाहनेले अनलाइनमार्फत कागजात पेश गर्नुपर्नेछ ।

व्यक्तिगत श्रम स्वीकृति लिन इच्छुकले सर्वप्रथम एफईआईएमएसमा आफ्नो व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो प्रक्रिया इमेल आइडी बनाउने जस्तै सरल रहेको विभागको भनाइ छ । प्रणालीमा नाम, ठेगाना, पासपोर्ट विवरण लगायत कानुनी जानकारी राखेपछि युजरनेम र पासवर्ड सेट गर्नुपर्नेछ ।

त्यसपछि कामदारले आफू जाने देशको जानकारीसहित कम्पनीबाट प्राप्त डिमान्ड लेटर, भिसा, पासपोर्टको प्रतिलिपि लगायत आवश्यक कागजात अपलोड गर्नुपर्नेछ । विभागले यी कागजातको आधिकारिकता अनलाइनमै प्रमाणीकरण गर्नेछ ।

श्रम स्वीकृति प्रक्रियाको क्रममा विभागले सम्बन्धित व्यक्तिले कुन देश, कुन कम्पनी, तथा के कामका लागि श्रम इजाजत लिएको हो भन्ने विवरण प्राप्त गर्नेछ । यी सबै जानकारी प्रमाणित भएपछि विभागले श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउनेछ ।

कहिले भर्ने?

श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्ने समय कुनै निश्चित मिति वा अवधि तोकिएको छैन। जब कामदारले विदेश जाने निश्चित प्रक्रिया पूरा गर्छन्, तब उनीहरूले अनलाइन आवेदन दिन सक्छन् ।

१. पहिलो पटक विदेश जान चाहनेहरूका लागि – जब भिसा प्राप्त हुन्छ र रोजगारदाता कम्पनीबाट आवश्यक कागजात (डिमान्ड लेटर, करारपत्र आदि) प्राप्त हुन्छ, त्यही समयमा एफईआईएमएस प्रणालीमा आवेदन दिन सकिन्छ ।

२. रि-इन्ट्री (पुनः प्रवेश) गर्न चाहनेहरूका लागि – पहिले श्रम स्वीकृति लिएर विदेश गएका व्यक्तिहरू पुनः उही कम्पनी वा अन्य कम्पनीमा फर्किन चाहेमा, आफ्नो नयाँ भिसा तथा आवश्यक कागजातहरू प्राप्त भएलगत्तै आवेदन दिन सक्नेछन् ।

३. श्रम स्वीकृति नवीकरणका लागि – जो पहिले विदेश गइसकेका छन् र पुनः श्रम स्वीकृति लिनुपर्ने स्थिति आएको छ, उनीहरूले आफ्नो रोजगार सम्झौता वा अन्य कागजात प्राप्त भएपछि तुरुन्त आवेदन दिन सक्छन् ।

बैंकिङ प्रणालीमा सुधार

श्रम स्वीकृति प्रक्रिया प्रमाणित भएपछि वैदेशिक रोजगार कल्याणकारी कोषबापतको शुल्क जम्मा गर्नुपर्नेछ। पहिलेजस्तो ताहाचलका सीमित बैंक काउन्टरमा मात्र रकम बुझाउनुपर्ने बाध्यता हटाइएको छ। अब देशभरका छवटा ठूला वाणिज्य बैंकका जुनसुकै शाखाबाट सरकारको खातामा शुल्क जम्मा गर्न सकिनेछ ।

यसअघि, सीमित बैंकका केही काउन्टरबाट मात्र शुल्क बुझाउनुपर्ने हुँदा कामदारहरू घन्टौं लाम बस्न बाध्य थिए। तर, अब डिजिटल प्रणालीमार्फत देशभरका बैंकमार्फत सहज रूपमा रकम जम्मा गर्न सकिनेछ।

बीमा प्रणाली र श्रम इजाजत नवीकरण

वैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्ने बीमासम्बन्धी सबै रेकर्ड स्वतः अनलाइन प्रणालीमा अद्यावधिक हुनेछ । यसका लागि विभागले बीमा कम्पनीहरूसँग समन्वय गरी विशेष व्यवस्था मिलाएको छ ।

श्रम इजाजत नवीकरण गर्नेहरूका लागि भने ओरियन्टेशन कक्षा तथा मेडिकल परीक्षण आवश्यक नपर्ने विभागले जनाएको छ । यसअघि विदेश गएका कामदारहरूको विवरण प्रणालीमा रहेकाले नवीकरणका लागि पुनः प्रमाणीकरणको आवश्यकता नपर्नेछ ।

प्रक्रिया पूरा भएपछि मात्र विभागमा जानुपर्ने

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको प्रक्रिया अनलाइन प्रणालीमार्फत पूरा भएपछि मात्रै कामदारले पासपोर्ट लिएर विभागमा जानुपर्नेछ । त्यहाँ श्रम अधिकारीले स्वीकृति प्रदान गरेपछि पासपोर्टमा स्टिकर टाँस गरिनेछ ।

विभागले यो प्रणाली लागू गरेर कामदारहरूलाई अनलाइनबाटै सहज श्रम स्वीकृति सेवा दिन खोजेको जनाएको छ। यसले समय र खर्च दुवै बचत हुने तथा कामदारलाई कार्यालय धाउने झन्झट कम हुने विश्वास गरिएको छ ।

 

 

Loading...