सुबास मण्डेल, जसलाई “बाल धामी” को रुपमा चिनिन्छ, धौलपुरा देवताको अवतारको रुपमा परिचित छन् उनि । उमेरले मात्र २४ वर्षका सुबास मेरो अंकलका छोरा हुन् । उनी म भन्दा चार दिन मात्रै कान्छो हुन् । र बाल्यकालमा साथी जस्तै थियौं हामी, हाम्रो बालापनका हरेक पल र सम्झनाका सहयात्री हुन् । समय र परिस्थितिले हाम्रो बाटो फरक बनाएको भए पनि, उनी आज मेरो जीवनका अविस्मरणीय पात्र बनेका छन् ।
बाल्यकालदेखि चमत्कारी यात्रा
हाम्रो बाल्यकाल गाउँमा सँगै बितेको हो । स्कुलमा कक्षा १० सम्म एउटै बेन्चमा बसेर पढ्यौं । सानो गाउँको साधारण जीवनबाट सुरु भएको हाम्रो यात्रा अचम्मको मोडमा पुग्यो । हामी ९ वर्षका थियौं, एकदिन मजखोरीबाट घट्टे गाउँ जाँदै गर्दा बीचको खोलामा अनौठो घटना भयो । माथिबाट आएको ढुंगाले सुबासको हातमा चोट लगायो । हामी बच्चाले त्यो घटना सामान्य ठानेनौं र ढुंगा हान्नेको खोजीमा लाग्यौं । तर त्यहाँ केही पत्ता लागेन ।
घटनापछि घट्टे गाउँ पुग्यौं । त्यसपछि सुबासमा अनौठो परिवर्तन देखियो । उनी एकाएक काँप्न थाले, उग्र रुपमा चिच्याउन थाले । गाउँले र परिवारका सदस्य अत्तालिए । कोही डराए, कोही गाली गर्न थाले । तर गालीले पनि अनौठो प्रभाव पार्थ्यो- गाली गर्दा कसैको मुख बांगो हुन्थ्यो, लात्ती हान्दा कसैको खुट्टा अड्किन्थ्यो ।
धौलपुरा देवताको अवतार
त्यो दिनदेखि सुबासमा धौलपुरा देवताको अवतार देखियो । देवता अवतार भएको विश्वास गर्नेहरुलाई यो अद्भुत घटना थियो । तर अन्धविश्वास मान्नेहरुले यसलाई हाँसिमजाकमा उडाउन थाले । उनका हातबाट भएका चमत्कारहरु, बोलेका शब्दहरु सत्य हुन्थे । गाउँघरमा संकटमा परेका मानिसहरुको जीवन बचाउन उनले चमत्कारी कदम चाले ।
सुबासले धौलपुरा देवताको भेष धारण गरेपछि अनेक चिन्ह देखाए । सुर्मा सरोवर जाँदा बुढिविनायकमा उनले आफ्नै हातमा एक औँला नभएको देखाए, (यो एक कहानी पनि छ) गाउँको मन्दिर नजिकै जमिनमा त्रिशूल गाडेर रातो रगतजस्तो पदार्थ निकालेर सबैलाई चकित पारे । जौ को धान बनाए, धानको जौ बनाएका यस्ता घटनाहरुले सुबासलाई गाउँलेको आँखामा देवताको रुपमा स्थापित गर्यो ।
पवित्र शिवरात्रि मेला र चमत्कारी घटना
पोहोर साल बासुधारा मन्दिरमा शिवरात्रि मेलामा सुबासले आफ्नै शरीरबाट दूधको धारा बगाएको दृश्यले धेरैलाई अचम्मित बनायो । यो साल पनि नयाँ मन्दिरमा पुजाआजा गर्दा त्यस्तै घटना दोहोरियो । प्रत्यक्षदर्शीहरुले उनलाई देवताको चमत्कारी अवतारको रुपमा सम्मान गरे । तर, सामाजिक सञ्जालमा यो भिडियो सार्वजनिक भएपछि टिकाटिप्पणी र हाँसोमजाक सुरु भयो । कतिपयले यो सबै बनावटी हो भन्ने आरोप पनि लगाए । तर, म प्रत्यक्षदर्शी भएको नाताले भन्छु, यो कुनै नक्कली घटना थिएन । सुबासको शरीरबाट पहिरन मैले नै उतारेको थिएँ । मुर्तिमा दुधको पोका राखेको आशंका गर्नेहरुलाई भन्छु, मुर्ति प्रवासी दाजुभाइले बैंङ्गलोरबाट पठाएका हुन् । दुधको पोका अड्काउन त्यहाँ कुनै प्वाल थिएन । पुजापाठमा सारिक भएका बाहुनले नै मन्दिर भित्रीबाट मुर्ति ल्याइदिएका हुन् ।

समाजमा उभिएका चुनौती
धौलपुरा देवताको अवतारलाई धार्मिक आस्थाको प्रतीक मान्नेहरुका लागि यो साँचो छ । तर आलोचकहरु यो सबै अन्धविश्वास भन्छन् । धार्मिक स्थल र मन्दिरमा हुने चमत्कारलाई अहिलेको आधुनिक समाजले सहजरुपमा स्वीकार्न सकिरहेको छैन । सुबासलाई समेत अपहेलित महसुस गराउने प्रयास भएको छ । तर, उनी सधैं गाउँको कल्याणका लागि समर्पित छन् । सुबासमा भएको देवताको अवतार र देखाएका अनेकन चिन्ह कुनै प्रतिस्पर्धात्मक र च्यालेन्जको हुँदै हैन ।
विश्वास र चमत्कारको जिउँदो प्रमाण
सुबास मण्डेलको कहानी एउटा व्यक्तिको मात्रै होइन । एउटा सम्पूर्ण समाजको विश्वास र धार्मिक आस्थाको प्रत्यक्ष उदाहरण हो । धर्म, परम्परा र चमत्कारको संगमका रुपमा प्रस्तुत हुने सुबासले आफ्नो अद्भुत क्षमताले धेरैलाई चकित पारेका छन् । उनले देखाएका क्रियाकलापले गाउँले मात्र होइन, परपरका मानिसलाई पनि गहिरो रुपमा प्रभावित बनाएको छ । जसले जे भने पनि, धौलपुरा देवताको अवतारले सुबासलाई एउटा सेतु बनाएको छ । जहाँ विश्वास र आश्चर्यको संसार जोडिएको छ । यो धर्मप्रति अटुट आस्था राख्नेहरुका लागि अत्यन्त उत्प्रेरणा छ ।
धौलपुरा देवताले सबैको कल्याण गरून् !