कास्कीको माछापुच्छ्रे गाउँपालिका ७, धम्पुसस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको निर्माण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी सन्तोष भण्डारी, उनका भाइ बालहरी भण्डारी, गणेश भण्डारी तथा पिता अनन्तराज भण्डारी, आमा सुमित्रा भण्डारीको विशेष योगदानमा मन्दिर निर्माण सम्पन्न भएको हो ।
विद्यालयमा अध्ययन गरेका बेला पूजाका लागि मन्दिर नभएको र बाटो छेउका रुखका जरालाई नै ढोगेर पूजा गर्ने गरेको स्मरण गर्दै सन्तोष भण्डारीले भने, “विद्यालयमा मन्दिर नभएको हुँदा १०–१२ वर्ष अगाडि नै मन्दिर बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आफ्नै विद्यालयमा यस्तो पुण्यको काम गर्न पाउँदा निकै खुसी लागेको छ ।”
हजुरबा–हजुरआमाको स्मृतिमा समर्पित मन्दिर
मन्दिर निर्माण स्वर्गीय हजुरबा नारायणप्रसाद भण्डारी र स्वर्गीय हजुरआमा खरीका देवी भण्डारीको स्मृतिमा गरिएको हो । उनीहरूको सम्झनामा नातिहरू गणेश भण्डारी, बालहरी भण्डारी र सन्तोष भण्डारी तथा उनका आमा–बुबा अनन्तराज भण्डारी र सुमित्रा भण्डारीले विद्यालयमा सरस्वती मन्दिर स्थापना गरेका हुन् । यो मन्दिर विद्यालयका विद्यार्थीहरूको लागि मात्र नभई, समग्र समाजका लागि पनि आस्थाको केन्द्र बन्ने विश्वास गरिएको छ ।
सन्तोष भण्डारीका पिता अनन्तराज भण्डारीले भने, “यो अत्यन्तै गौरवको कुरा हो । यो हाम्रो स्वर्गीय पितामाताको सम्झनामा गरिएको पुण्यकार्य हो ।”
विद्यालयद्वारा सम्मानित
विद्यालय व्यवस्थापन समितिले भण्डारी परिवारको योगदानको उच्च मूल्यांकन गर्दै विशेष ‘प्रशंसा पत्र’ प्रदान गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक टेकप्रसाद भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङले भण्डारी परिवारलाई धन्यवाद व्यक्त गरे ।विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष देउकाजी गुरुङले परिवारका सदस्यलाई दोसल्ला ओडाएर र विव्यस सदस्य सोभा भण्डारीले टिका लगाएर सम्मानित गरेका थिए ।