बझाङ, दुर्गाथली गाउँपालिका-२ मौरिबगर देखि सुडिखोला सम्मको जयपृथ्वी राजमार्गको सफाइ गरिएको छ । यस क्रममा सडक अतिक्रमण गरी बनाइएका टहरा समेत हटाइएको छ ।
दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा तुफानको नेतृत्वमा आज भएको सफाइ अभियानले सडकको अवस्था सुधार गर्दै अतिक्रमण हटाउने काम गरेको हो । “सडकको मापदण्डभित्र रहेका संरचनाहरूले आवागमनमा समस्या सिर्जना गर्दै आएका थिए । यो समस्या समाधान गर्न हामीले जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारीहरू, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागितामा सफाइ कार्यलाई अघि बढाएका हौं ।” अध्यक्ष तुफानले बताए ।
उनले गाउँपालिका क्षेत्रभित्र सडक मापदण्डको पालनामा स्थानीयको सहयोग आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणका कामहरू व्यवस्थित रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सडक सफाइ अभियानले सकारात्मक सन्देश दिएको र नागरिकले पनि सडक मापदण्डको पालना गर्नुपर्ने माग गरेको छ ।