बालबालिकाको मनोसामाजिक स्वास्थ्य सुधारका लागि बझाङमा पाँच दिवसीय तालिम

बझाङ, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा मनोसामाजिक सेवासम्बन्धी पाँच दिवसीय आधारभूत तालिमको समापन गरिएको छ । जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको तालिममा बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

तालिममा सहभागी

तालिममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जयपृथ्वी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, साथी शिक्षक, प्रगतिशील युवा समाज र दलित सहयोग समाजका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । तालिमलाई मनोसामाजिक विज्ञ गणेश प्रसाद पौडेल र बाल संरक्षण प्रतिनिधि सुशिलराज जोशीले सहजीकरण गरेका थिए ।

बालबालिकाको मानसिक स्वास्थ्य सुधार, जीवनशैली परिवर्तन, र उनीहरूको मानसिक समृद्धिका लागि प्रभावकारी उपायहरू सिकाउनको लागी तालिमको आयोजना गरिएको हो । पाँच दिनसम्म प्रशिक्षकहरूले प्रस्तुत गरेका विषय र ज्ञानलाई सहभागीहरूले अत्यन्त उपयोगी र प्रभावकारी मानेका छन् । तालिममा सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।

प्रमाणपत्र वितरण गर्दै अध्यक्ष के.सि

समापन कार्यक्रमको अध्यक्षता प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गरेका थिए । कार्यक्रममा सहभागीहरूले बालबालिकाको मनोसामाजिक विषयमा ध्यान दिनुपर्ने र यस्ता तालिमहरू आवश्यक रहेको धारणा राखेका थिए ।

जयपृथ्वी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी मिना रेग्मीले बालबालिकाको मनोसामाजिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा समाजको ध्यान कम भएकोप्रति चिन्ता व्यक्त गर्दै तालिमले नयाँ ज्ञान र सन्देश दिएको बताइन् । उनले आगामी दिनमा बालबालिका सम्बन्धी विषयमा केन्द्रित हुँदै गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल बझाङकी जिल्ला संयोजक मेनुका मल्ल सिंहले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सबैलाई आग्रह गरिन् । उनले जोखिममा रहेका बालबालिकाको संरक्षण र उनीहरूको समस्या समाधानमा काम गर्न अभिभावक र सरोकारवालाहरू संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याइन् ।

तालिमको समापन गर्दै अध्यक्ष रमेश केसीले ५ दिने तालिम लाभदायक, फलदायी र प्रभावकारी भएको बताए । उनले बालबालिकाको संरक्षण र उनीहरूको मानसिक स्वास्थ्य सुधारका लागि सबैले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए ।

पाँच दिनसम्म सञ्चालन गरिएको यो तालिमले बालबालिकासँग प्रत्यक्ष रूपमा जोडिएका सरोकारवालाहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गरेको आयोजक संस्था प्रगतिशील युवा समाज तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालले विश्वास लिएको छ ।

Loading...