अख्तियारको फन्दामा बझाङका नक्कली शिक्षक बोहरा

बझाङ, माघ २३ – बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाअन्तर्गत जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सहायक प्रशिक्षक पदमा नियुक्ति लिएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले यस घटनामा संलग्न रहेको ठहर गर्दै बोहराबिरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा बोहराले उच्च माध्यमिक शिक्षा परिषद् बाट जारी भएको भनिएको कक्षा १२ को लब्धाङ्क पत्र   नक्कली प्रमाणित भएको आयोगले जनाएको छ । उनले उक्त झुट्टा प्रमाणपत्रको आधारमा जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्ति लिएका थिए । आयोगका अनुसार, नक्कली प्रमाणपत्रको प्रयोग गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार दण्डनीय अपराध हो ।

अख्तियारले बोहराविरुद्ध कैद तथा जरिवानासहितको सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सेवामा यस्ता किर्ते कार्यले गम्भीर असर पार्ने भन्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए ।

Loading...